नेकपा एमाले महोत्तरीको विवाद चरमोत्कर्षमा

 नेकपा एमाले महोत्तरीको विवाद चरमोत्कर्षमा पुगेको छ ।  निर्वाचनमा आफ्नो उम्मेदवारलाई सहयोग र असहयोग गरेको बिषयलाई लिएर एमाले महोत्तरीमा विवाद चुलिएको हो ।

रामगोपालपुरमा जिल्ला कमिटीको बैठक बसेसँगै दुई पक्षवीच आरोपप्रत्यारोप चलेको छ । प्रदेशसभामा निर्वाचित संसद शारदादेवी थापाले जिल्ला कमिटीको बैठकमा जिल्ला र प्रदेशका नेताहरुलाई कारबाहीका लागि सिफारिस गरेकी थिइन् ।

निर्वाचनमा विपक्षी दलसँग मिलेर असहयोग गरेको आरोप लगाउँदै क्षेत्रीय इन्चार्ज केदारबहादुर बस्नेतसहितलाई कारबाहीको सिफारिस गरेपछि महोत्तरी एमालेको विवाद चरमोत्कर्षमा पुगेको हो । 

थापाले लगाएको आरोपलाई शंकर महतोले पनि साथ दिएका छन् । महतो एमाले प्रवेश गर्नुपुर्व माओवादी केन्द्रका उपमाहासचिव तथा पुर्व मन्त्री गिरिराजमणी पोखरेलको सचिवालयमा बसेर काम गरेका नेता हुन् । 

महोत्तरी–१ बाट संघमा र बाँकी २ ठाउँमा प्रदेश संसद जितेको नेकपा एमालेको विवाद क्षेत्र–१ बाट नै सुरु भएको छ । एमाले उम्मेदवारहरुले जिते पनि सांगठनिक मत भने पार्टीइतरका उम्मेदवारलाई गएको निर्वाचित जनप्रतिनिधिहरुको बुझाइ छ ।

यही विषयलाई लिएर शारदादेवी थापा पक्ष क्षेत्रीय इन्चार्ज केदारबहादुर बस्नेत पक्षमा खनिएको छ ।  जिल्ला कमिटीको बैठकमा  थापालाई हराउन पार्टीभित्रैबाट फाल्गुन सुस्लिङ मगरलाई बागी उम्मेदवार बन्न उक्साएको, गुट सिर्जना गरेर छुट्टै भेला गरेको, केन्द्रीय सदस्य बुधिनिदेवी र बस्नेतले छुट्टै बैठक बसी पार्टी उम्मेदवारलाई हराउन भुमिका खेलेको जस्ता आरोपसहित इन्चार्ज बस्नेतको बिषयमा प्रदेशमा ध्यानाकर्षण गराइएको छ ।

प्रदेश कमिटी सदस्य चन्द्रबहादुर क्यापछाकी निर्वाचन अवधिभर निष्क्रिय रहेको विषय पनि बैठकमा उठाइएको छ । नेता क्यापछाकीको भूमिकासमेत शंकास्पद रहेको भन्दै प्रदेशलाई ध्यानाकर्षण गराइएको छ ।

जिल्ला कमिटी सदस्य कुमार भण्डारीको जिम्मेवारीलाई लिएर पनि समीक्षा बैठकमा आलोचना भएको छ । पार्टीका उम्मेदवारविरुद्ध नै सार्वजनिक ठाउँमा गलत अभिव्यक्ति दिएर पार्टी हराउने अभियानमा लागेको, पार्टी प्रचारप्रसार समितिलाई विपक्षीहरुसँग मिलेर आक्रमणको प्रयास गरेकोजस्ता उनीमाथि आरोप लागेका छन् ।

केन्द्रीय अध्यक्ष केपी ओलीनिकट मानिने गुरु भट्टराईमाथि पनि  आफ्नो पार्टीका उम्मेदवार हराउन भूमिका खेलेको आरोप लागेको छ । विवाद बढ्दा जाँदा आगामी १५ चैतमा हुने भनिएको जिल्ला अधिवेशन अन्योलग्रस्त बनेको नेताहरु बताउँछन् । 
 

Comments

Back to top