मुद्रास्फीति उच्च हुने आइएमएफको प्रक्षेपण, विश्व अर्थतन्त्र ओरालोतर्फ

सन् २०२३ मा विश्व मुद्रास्फीतिदर ६ दशमलव ६ प्रतिशत रहने अन्तरराष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले प्रक्षेपण गरेको छ । ‘वल्र्ड इकोनोमिक आउटलुक अपडेट’ प्रतिवेदन सार्वजनिक गर्दै आइएमएफले सन् २०२२ मा जस्तै यस वर्ष पनि विश्व मुद्रास्फीतिदर उच्च रहँदा त्यसको असर आर्थिक वृद्धिदरमा पर्ने जनाएको छ ।

सन् २०२२ मा ८ दशमलव ८ प्रतिशत रहेको विश्व मुद्रास्फीतिदर सन् २०२३ मा ६ दशमलव ६ प्रतिशत र सन् २०२४ मा ४ दशमलव ३ प्रतिशत रहने प्रक्षेपण मुद्रा कोषको छ ।

विश्वका ८४ प्रतिशत देशमा उच्च मुद्रास्फीतिको असर त्यहाँको अर्थतन्त्रमा देखिने मुद्रा कोषको अनुमान छ । अस्तव्यस्त आपूर्ति शृङ्खला, महङ्गो उत्पादन लागत, ऊर्जा तथा खाद्य सङ्कटलगायतका कारण नागरिकको जीवन निर्वाह खर्च बढ्ने ठानिएको छ । रुस–युक्रेन तनाव र कोभिड महामारीपछि सुस्ताएको विश्व अर्थतन्त्र लयमा फर्कन नसक्दा त्यसको प्रभाव देखिएको आइएमएफले प्रतिवेदनमा उल्लेख गरेको छ ।

कोभिड महामारी सुरु हुनुअघि सन् २०१७ देखि २०१९ सम्ममा विश्व मुद्रास्फीतिदर औसत तीन दशमलव ५ प्रतिशत बराबर मात्रै थियो । तर पछिल्ला वर्षहरुमा यस्तो वृद्धिदर बढ्दै गएर सन् २०२२ मा ९ दशमलव ९ प्रतिशतसम्म पुगेको छ । चर्को मुद्रास्फीतिबाट सानो अर्थतन्त्र, न्यून आय भएका र विकासोन्मुख देशहरु बढी प्रभावित भएको आइएमएफले जनाएको छ।

ठूलो अर्थतन्त्र भएका र विकसित मुलुकहरुमा सन् २०२२ मा औसत सात दशमलव ३ प्रतिशतसम्म पुगेको मुद्रास्फीति सन् २०२३ मा ४ दशमलव ६ प्रतिशत रहने अनुमान छ।

उदाउँदो अर्थतन्त्र र विकासशील मुलुकहरुमा सन् २०२२ मा नौ दशमलव ९ प्रतिशतसम्म पुगेको मुद्रास्फीतिदर सन् २०२३ मा ८ दशमलव १ प्रतिशत रहने प्रक्षेपण छ।

त्यस्तै, न्यून आय भएका र कम विकसित मुलुकहरुमा सन् २०२२ मा १४ दशमलव २ प्रतिशतसम्म पुगेको मुद्रास्फीतिदर ८ दशमलव ८ प्रतिशत रहने अनुमान गरिएको छ।

चरम मुद्रास्फीतिको नकारात्मक प्रभाव विश्व आर्थिक वृद्धिदरमा प्रत्यक्ष रुपमा देखिएको छ। आइएमएफका अनुसार सन् २०२२ मा विश्व आर्थिक वृद्धिदर ३ दशमलव ४ प्रतिशत रहने अनुमान छ । त्यस्तै, सन् २०२३ मा २ दशमलव ९ र सन् २०२४ मा ३ दशमलव १ प्रतिशत विश्व आर्थिक वृद्धिदर रहने प्रक्षेपण गरिएको छ।

केही समयअघि मात्र विश्व बैंकले ‘ग्लोबल इकोनोमिक प्रस्पेक्ट’ प्रतिवेदन सार्वजनिक गर्दै सन् २०२३ मा विश्व आर्थिक वृद्धिदर १ दशमलव ७ प्रतिशतमा खुम्चने प्रक्षेपण सार्वजनिक गरेको थियो । उक्त प्रतिवेदनले नेपालको आर्थिक वृद्धिदर आर्थिक वर्ष २०२२/२३ मा ५ दशमलव एक र २०२३/२४ मा ४ दशमलव ९ प्रतिशत रहने प्रक्षेपण गरेको थियो।

ग्लोबल इकोनोमिक प्रस्पेक्ट प्रतिवेदनले पनि रुस–युक्रेन युद्ध र कोभिड महामारीको प्रभावलाई न्यून आर्थिक वृद्धिदरको मुख्य कारणका रुपमा उल्लेख गरेको छ । त्यस्तै, उच्च मूल्यवृद्धि, उच्च ब्याजदर, न्यून लगानी, आपूर्ति शृङ्खलामा देखिएको अवरोधलगायतका कारणले पनि आर्थिक वृद्धिदरमा गिरावट आएको विश्व बैंकले जनाएको छ।

सन् २००९ को विश्व आर्थिक मन्दी र २०२० मा महामारीका कारण न्यून देखिएको आर्थिक वृद्धिदर पछि यसवर्ष सबैभन्दा कम आर्थिक वृद्धिदर रहेको पनि विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ।

‘सन् २०२३ को आर्थिक वृद्धिदरको अनुमान पछिल्लो ३ दशक अवधिमा देखिएको तेस्रो ठूलो गिरावट हो। विश्व आर्थिक वृद्धिदर सन् २००९ र २०२२ यताकै यस वर्ष सबैभन्दा कम हो’, प्रतिवेदनमा भनिएको छ।

Comments

Back to top