जुनकिरीको पुच्छरमा बत्ती यस कारण बल्छ!
जुनकिरी एउटा यस्तो अचम्मको किरा हो जसको आफ्नै शरीरमा बत्ती बल्ने गर्दछ । शरीरमा बल्ने बत्तीकै कारण स-साना बलबालिकाको बिचमा यो निकै लोकप्रिय रहेकाे छ । बेलुकाको समयमा पुच्छरतिरको भाग बत्ती जस्तै चम्किने भएको जुनकिरीको पनि आफ्नै प्रकारको रहस्य रहेको छ । आफ्नै छुट्टै प्रकारको विषेशता भएको यो अनौठो किरालाई लिएर संसारभरका वैज्ञानिक समेत चकित परेका छन् । यसका साथै वैज्ञानिकहरुले यस रहस्यको खोजी समेत गरिरहेका छन् ।
अनुसन्धानको क्रममा जुनकिरीको शरीरमा बल्ने बत्ती पनि हाम्रो घरमा हुने अन्य बत्तीहरु जस्तै रहेको वैज्ञानिकहरुले पत्ता लगाएका छन् । उनीहरुका अनुसार फरक यति मात्रै छ कि अरु बत्तीहरु बल्दा ताप उत्पन्न हुन्छ तर जुनकिरीको जीउमा रहेका बत्ती तापबिना नै बल्ने गर्छ ।
यसरी उत्पन्न हुने विशेष खाले प्रकाशलाई ‘ल्यूमिनेसेन्स’ भनिन्छ । जुनकिरीमा यस्तो प्रकाश ‘लुसिफेरिन्’ नामक तत्त्वको कारणले उत्पन्न हुने गर्छ । यो तत्त्व अक्सिजनसँग मिलेर प्रकाश उत्पन्न हुने गर्दछ । तर, प्रकाश उत्पन्न गर्ने यो प्रक्रिया ‘ल्यूसिफेरेज्’ नामक अर्को तत्त्व नभएसम्म सम्भव हुँदैन । ल्यूसिफेरेजले यो रासायनिक प्रक्रिया पूरा गर्न मद्दत गर्छ तर आफू स्वयम् भने प्रक्रियामा संलग्न नहुने वैज्ञानिक बताउछन् । जुनकिरीको शरीरमा हुने लुसिफेरेजले लुसिफेरिनलाई अक्सिजनसँग मिलेर बल्नमा मद्दत गर्छ ।
अहिले वैज्ञानिकहरुले यस्तै प्रकारको प्रकाशको खोजीमा जुटेका छन् । तर, प्रकाश उत्पन्न गराउन चाहिने रसायन जुनकिरी बाहेक अरुले उत्पादन गर्न मिल्दैन। अझुम्म पनि उक्त रसायनहरु कसरी बन्छन् भन्ने कुरामा नै वैज्ञानिकहरु अल्झिरहेका छन्। यो अहिले पनि प्रकिृतिको एउटा नसुल्झिएको रहस्यको रुपमा रहेको छ।
जुनकिरीले यस्तो प्रकाश किन उत्पन्न गर्छ भन्ने प्रश्न मनमा उठ्न सक्छ । यस बारेमा भने वैज्ञानिकहरुले आ-आफ्ना धारणहरु राखेका छन् । कसैले उनीहरु आफ्नो जोडी खोज्नका लागि यस्तो प्रकाश उत्पन्न हुने गर्छ भनेका छन् भने कसैले राती सिकार गर्ने चराहरुलाई तर्साउन त्यसो गर्ने गरेको कुरा अघि सारेका छन्। यस्तै, कसैले त यो केवल रसायनिक प्रक्रिया मात्र हो भन्ने धारणा राखेका छन्।
विभिन्न अनुसन्धान पश्चात पनि जुनकिरीले किन बत्ती बाल्छ भन्ने कुराको ठोस कारण भने पत्ता लाग्न सकेको छैन।
Comments