अर्बपति इलन मस्कले गिनिज विश्व रेकर्ड तोडे

अर्बपति इलन मस्क गिनिज विश्व रेकर्डमा दर्ता भएका छन् । नेटवर्थमा सबैभन्दा धेरै गिरावट भोग्ने व्यक्तिका रुपमा मस्क गिनिज विश्व रेकर्डमा दर्ता भएको सीएनबीसीले उल्लेख गरेको छ । सन् २०२२ मस्कका लागि निकै निराशाजनक वर्ष सावित भएको छ । सन् २०२२ मा वर्ष मस्कको सम्पतिमा १ खर्ब ८२ अर्ब अमेरिकी डलर गिरावट आएको थियो । सम्पतिमा यति ठूलो गिरावट भोग्ने मस्क पहिलो व्यक्ति हुन् ।

यसअघि जापानी लगानीकर्ता मासायोशी सनले सबैभन्दा धेरै सम्पति गुमाउने रेकर्ड होल्ड गरेका थिए । मासायोशीले सन् २००० मा ५८.६ अर्ब डलर सम्पति गुमाएका थिए । त्यसो त, अमेजनका संस्थापक जेफ बेजोसले ८० अर्ब डलर र मेटाका प्रमुख कार्यकारी अधिकृत मार्क जकरबर्गले पनि सन् २०२२ मा ७८ अर्ब डलर सम्पति गुमाएका छन् ।

ट्विटरका मालिक मस्कले यी सबैलाई पनि पार्दै रेकर्ड तोडेका हुन् । गिनिजले फोर्ब्सको तथ्यांकलाई आधार मानेर मस्कलाई रेकर्डमा दर्ता गरेको हो । सन् २०२१ को अन्त्यमा मस्कको सम्पत्ति ३ खर्ब २० अर्ब डलरसम्म पुगेको थियो । फोर्ब्सको जनवरी १० सम्मको तथ्यांक अनुसार उनको कुल सम्पत्ति घटेर १ खर्ब ४२ अर्ब डलरमा आएको छ । मस्क हाल विश्वको दोस्रो धनी व्यक्तिको रुपमा स्थापित छन् ।

Comments

Back to top