जहाँ मानिस होइन कुकुर छन् करोडपति: रोचक
दुनियाँमा एउटा यस्तो गाउँ छ जहाँ मानिस होइन कुकुरहरु जमिन्दार तथा करोडपति छन्।
चन्टोल गाउँ, भारतको गुजरातस्थित मेहसाणामा रहेको यस्तो गाउँ हो जहाँ कुकुरहरु करोडपति छन्। चन्टोल गाउँमा बितेको केही समय यता जमिनको मूल्य आकाशिएको छ।
मेहसाणा बाइपास बन्ने भएपछि त्यहाँको जमिनको भाउ असामान्य रुपमा बढेको छ। त्यसको ठूलो फाइदा स्थानीय कुकुरहरुलाई पनि पुगेको छ। वास्तवमा त्यहाँका कुकुरहरुको हेरचाह तथा लालन-पालनका लागि गाउँमा २१ बिघा जमिन गुठीको रुपमा राखिएको छ। उक्त जमिनबाट हुने आम्दानी कुकुरको नाममा जम्मा गरिन्छ।
बाइपास नजिकै भएका कारण उक्त गुठीको जमिनको भाउ प्रतिबिघा साढे ३ करोड पुगेको छ। उक्त गुठीको मातहतमा ७० वटा कुकुर छन्। त्यसैले त्यहाँका हरेक कुकुरको नाममा करीब १ करोड भारु पर्न आएको छ । उक्त गुठीका अध्यक्ष छगनभाई पटेलका अनुसार कुकुरको गुठीको हिस्सा बाँड्ने परम्परा सदियौंदेखि चलिआएको छ । उक्त परम्परा धनाढ्यहरुले सुरु गरेका थिए ।
दान दिइएका स–साना टुक्रा जमिनबाट सुरु भएको गुठीमा अहिले २१ बिघा जमिन पुगेको छ । पटेल किसानहरुको एक समूहले पछिल्लो ८० वर्षदेखि उक्त जमिनको हेरचाह गर्दै आएको छ । उक्त जमिनको अन्नपात बिक्री तथा भाडाबापत आउने रकम गुठीमा जम्मा गरेर गाउँका कुकुर तथा अन्य जनावरहरुको हेरचाहमा खर्च गरिँदै आएको छ।
Comments