वैकल्पिक उर्जामा चीनको अर्को उछाल!
हाइड्रोजन-ऊर्जाद्वारा सञ्चालित रेल चीनमा पहिलोपटक सार्वजनिक भएको छ।
प्रतिघण्टा १६० किलोमिटर स्पिड भएको उक्त रेल गत बुधबार सार्वजनिक गरिएको हो । एक पटक हाइड्रोजन भरेपछि रेलले अधिकतम ६०० किलोमिटर यात्रा तय गर्न बताइएकाे छ।
यस रेलमा १५०० जनाको सिट क्षमता रहेको छ। वातावरणमैत्री यो रेलले शून्य-कार्बन उत्सर्जन गर्ने बताइएको छ । सबैभन्दा आकर्षक विशेषता भनेकाे यो रेल स्वचालित छ, जहाँ रेल आफैं स्टार्ट र बन्द हुन्छ । त्यस्तै विभिन्न स्टेसनमा पनि मानिसहरूको चाप अनुसार पर्खने समय पनि सिस्टमले नै निर्धारण गर्छ।
हाइड्रोजनबाट चल्ने यो रेलको ठाउँमा अन्य रेल भएको भए त्यसले प्रति ५०० किलोमिटर यात्रामा १० हजार किलो कार्बन उत्सर्जन गर्थ्यो। रेलमा एआई मोनिटरिङ सिस्टम र सेन्सर, फाइभजी सञ्चार र सुरक्षा जोखिम कम गर्ने उन्नत प्रविधि समावेश गरिएको छ।
हाइड्रोजनद्वारा सञ्चालित हुने इन्जिनलाई भविष्यमा निकै सफल हुने प्रविधि मानिएको छ । हाइड्रोजन-इन्जिनको बजार सन् २०३० सम्म ३४.७ अर्ब पुग्ने अपेक्षा गरिएको छ । त्यस्तै वार्षिक १०.४ प्रतिशतले बढ्दै हाइड्रोजन इन्जिनको बजार सन् २०४० सम्म ८७.३ अर्ब डलर पुग्ने विज्ञहरूले बताएका छन्।
यस रेलका लागि आवश्यक पर्ने ऊर्जा हाइड्रोजन र अक्सिजनको सम्मिश्रणबाट तयार पारिन्छ । हाइड्रोजन फ्युल सेलमा हाइड्रोजन र अक्सिजनबीच रासायनिक प्रतिक्रिया गराउँदा ऊर्जा उत्पन्न हुन्छ । भविष्य यस रेलको अझ उत्कृष्ट भर्सन र स्पिड देख्न सकिने अपेक्षा गरिएको छ।
हाइड्रोजन फ्युल सेलले वातावरणलाई असर नगर्ने र खर्च पनि कम पर्ने सन् २०२५ सम्म यसबाट चल्ने ५० हजार गाडी सञ्चालन आउने बताइएको छ । भारतमा पनि सन् २०२३ को अन्त्यबाट हाइड्रोजनबाट चल्ने रेल आउने विभिन्न सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
Comments