सन् २०२३ मा विश्व अर्थतन्त्र थप पीडाबाट गुज्रँदै!

कोभिड–१९ को महामारीपछि विश्व अर्थतन्त्रका लागि यो पुनरागमनको वर्ष हुने अपेक्षा गरिएको थियो ।सन् २०२२ मा नयाँ युद्ध, उच्च मुद्रास्फीति र जलवायुसँग सम्बन्धित विपत्तिहरू आए । कोलम्बिया विश्वविद्यालयका प्राध्यापक तथा इतिहासकार एडम टुजले यो बर्षको सङ्कटलाई एक ‘पोलिक्राइसिस’ का रूपमा बर्णन गर्नुभएको छ । सन् २०२३ मा थप निराशाको लागि तयार हुनुपर्ने आर्थिक विश्लेषकहरूले बताएका छन् । 

युनिभर्सिटी अफ एम्स्टर्डमका म्याक्रोइकोनोमिक्सका प्राध्यापक रोएल बीट्स्माले भन्नुभयो, “शताब्दीको सुरुदेखि नै सङ्कटको दायरा बढेको छ । “दोस्रो विश्वयुद्धपछि हामीले यस्तो जटिल अवस्था कहिल्यै देखेका थिएनौं,” उनले एएफपीसँग भन्नुभयो । सन् २०२० को कोभिड–१९ का कारण उत्पन्न आर्थिक सङ्कटपछि सन् २०२१ मा देशहरू लकडाउन र अन्य प्रतिबन्धबाट मुक्त भए । उपभोक्ता मूल्य वृद्धि हुन थाल्यो ।

केन्द्रीय बैङ्करहरूले अर्थतन्त्र सामान्य अवस्थामा फर्केपछि उच्च मुद्रास्फीति अस्थायी मात्र हुने बताएका थिए । तर फेब्रुअरीको अन्त्यमा रूसले युक्रेनमाथि गरेको आक्रमणले ऊर्जा र खाद्यान्नको मूल्य बढेको थियो । धेरै देशहरू अहिले जीवनयापनको लागतको सङ्कटसँग जुधिरहेका छन्  । ज्यालाले मुद्रास्फीतिलाई कायम राख्न सकेको छैन, जसले गर्दा घरपरिवारहरू आफ्नो खर्चमा कठिन छनौट गर्न बाध्य छन् ।

केन्द्रीय बैङ्कहरूले छिटोछिटो ब्याजदर परिवर्तन र बैङ्कका नीति हेरफेर गरिरहेका छन् । उच्च ऋण लागतको अर्थ आर्थिक गतिविधि सुस्त हुनु हो भन्ने कारण देशहरूलाई गहिरो मन्दीमा धकेल्ने जोखिमका बीच उनीहरूले सन् २०२२ मा बढ्दो मुद्रास्फीतिलाई नियन्त्रण गर्ने प्रयासमा ब्याज दर बढाउन थाले । संयुक्त राज्य अमेरिका र युरा क्षेत्रमा मुद्रास्फीति अन्ततः कम हुन थालेको छ ।

सावधानीपूर्वक खर्च 

विकसित र उदीयमान राष्ट्रहरूको समूह (जी–ट्वेन्टी) मा उपभोक्ता मूल्य चौथो त्रैमासिकमा आठ प्रतिशत पुग्ने र अर्को वर्ष ५.५ प्रतिशतमा झर्ने अनुमान जी–ट्वेन्टीको आर्थिक सहयोग र विकासमामिला सङ्गठन ( ओईसीडी)ले जनाएको छ । ओईसीडीले सरकारहरूलाई घरपरिवारमा राहत ल्याउन सहायता प्रदान गर्न प्रोत्साहित गरिरहेको छ । 

ब्रुगेल थिङ्क ट्याङ्कका अनुसार २७ राष्ट्रसम्मिलित युरोपेली संघ (ईयूमा)मा उपभोक्तालाई उच्च ऊर्जा मूल्यबाट जोगाउन अहिलेसम्म ६७४ अर्ब युरो (करिब ७०४ अर्ब अमेरिकी डलर) छुट्याइएको छ ।

युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र र रूसको ऊर्जा आपूर्तिमा सबैभन्दा बढी निर्भर जर्मनीले कुल २६४ अर्ब युरो ओगटेको छ । अन्स्र्ट एन्ड योङ्ग ग्लोबल लिमिटेड (ईवाई) नामक कन्सल्टेन्सीले गरेको एक सर्वेक्षणअनुसार दुईमध्ये एक जना जर्मनले अहिले अत्यावश्यक वस्तुमा मात्र खर्च गर्ने गरेको बताएका छन् ।

बढ्दो ब्याजदरले उपभोक्ता र व्यवसायलाई समेत असर गरेको छ । अमेरिकी फेडरल रिजर्भ र युरोपियन सेन्ट्रल बैंक दुवैले डिसेम्बरमा आफ्नो दर वृद्धिको गतिलाई सुस्त बनाउन थालेका छन् । तर उनीहरूले मुद्रास्फीतिमा पकड प्राप्त गर्न अझै उच्च जान आवश्यक रहेको सङ्केत दिएका छन् ।

अर्थशास्त्रीहरूले जर्मनी र युरोजोनको अर्को ठूलो अर्थतन्त्र इटाली मन्दीको चपेटामा पर्ने अनुमान गरेका छन् । बेलायतको अर्थतन्त्र खुम्चिँदै गएको छ । रेटिङ एजेन्सी एस एन्ड पी ग्लोबलले सन् २०२३ मा युरो क्षेत्रमा स्थिरता आउने प्रक्षेपण गरेको छ । तर अन्तर्राष्ट्रिय मुद्रा कोषले भने सन् २०२३ मा विश्वअर्थतन्त्र २.७ प्रतिशतले वृद्धि हुने अनुमान गरेको छ । ओईसीडीले २.२ प्रतिशतको आर्थिक वृद्धिहुने प्रक्षेपण गरेको छ ।

चीनमा कोभिड–१९ नियन्त्रणका प्रतिबन्धहरू खुकुलो पारिनुले विश्वको दोस्रो ठूलो अर्थतन्त्र र विश्वव्यापी वृद्धिको प्रमुख चालकको पुनरुत्थानको आशा जगाएको छ । यी प्रतिबन्धहरूले चीनको अर्थतन्त्रलाई तहसनहस पारेको थियो र देशव्यापी विरोध प्रदर्शनहरू निम्तिएका थिए ।

चीनले यसै हप्ता जनवरी ८ देखि विदेशी नागरिकका लागि कोभिड–१९ सँग सम्बीन्धत ‘क्वारेण्टाइन’ अन्त्य गर्ने घोषणा गर्दै विश्वका पर्यटकका लागि चीनलाई खुला गर्ने सङ्केत दिएको थियो ।

Comments

Back to top