ट्वीटर प्रयोगकर्तालाई लाइभ लोकेसनमा डक्सिङ नगर्न ट्वीटर प्रमुखको आग्रह!
लाइभ लोकेसनमा ‘डक्सिङ’ गर्नु ‘भौतिक सुरक्षा उल्लङ्घन’ भएको मानिने बताउँदै ट्वीटर प्रयोगकर्तालाई यस संस्थाका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले आग्रह गरेका छन्।
सामान्यतया इन्टरनेट मार्फत सार्वजनिक रूपमा एक व्यक्ति वा संस्थाको बारेमा व्यक्तिगत रूपमा पहिचान योग्य जानकारी प्रदान गर्ने कार्य ‘डक्सिङ’ हो र यसबाट भौतिक सुरक्षा उल्लङ्घन’ हुने मस्कले बताए। उनले ‘माइक्रोब्लगिङ साइट’मा साइबर सुरक्षा बढाउनुपर्ने आफ्नो अडान स्पष्ट पार्दै प्रयोगकर्तासँग उक्त आग्रह गरेका हुन्। ‘माइक्रोब्लग’ भनेको छोटो रूपमा सामाजिक सञ्जालमार्फत सम्प्रेषण हुने सन्देश हो । यसले प्रयोगकर्ताहरूलाई एकल वाक्यहरू, व्यक्तिगत छविहरू, वा भिडियो लिङ्कहरू जस्ता सामग्रीका साना अंशहरू आदानप्रदान गर्न अनुमति दिन्छ ।
मस्कले आफ्नो आधिकारिक ट्विटर ह्यान्डलमा भनेका छन्, “डक्सिङमा संलग्न एकाउन्टहरू अर्थात् विशेष गरी वास्तविक समय स्थानहरूका सार्वजनिक रूपमा पहिचान–सम्बन्धित जानकारी पोस्ट गर्ने प्रयोगकर्तालाई दण्डित गरिनेछ ।”
“कुनै पनि एकाउन्टले कसैको बारेमा वास्तविक–समय स्थानबारे जानकारी दिएमा उसको एकाउन्टलाई रोक्का गरिनेछ, किनकि यो भौतिक सुरक्षा उल्लङ्घन हो । यसमा वास्तविक समय र स्थानबारेमा आउने जानकारी भएका साइटहरूको पोस्ट लिङ्क गर्नु पनि समावेश रहनेछ ।” विश्व प्रसिद्ध प्रबिधि कम्पनी टेस्लाका प्रमुखले लेख्नुभएको छ ।
उनको सन्देशपछि प्रयोगकर्ताहरूले मस्कको कदमको सहमतिमा जवाफहरू ट्वीट गरेका छन् । यसलाई प्लेटफर्ममा थप सुरक्षा उपायको रूपमा उनीहरूले स्वीकारेका छन्।
‘डक्सिङ’ गर्नु अभिव्यक्ति स्वतन्त्रता होइन र प्रतिबन्ध आवश्यक रहेको अर्का प्रयोगकर्ताको धारणा आएको छ , उनीहरूलाई पछ्याउँदै अन्य सयौँ प्रयोगकर्ताले यस कदमको सह्राहना गरेका छन् भने कतिपयले पोष्टप्रति विमति जनाएका छन् । यद्यपि विमति जनाउनेको सङ्ख्या उल्लेख्य छैन ।
यसअघि मस्कले तथाकथित ‘ट्वीटर फाइल्स’ को दोस्रो किस्तामा कम्पनीले कसरी कालोसूचीमा राख्ने र केही अकाउन्टको दृश्यतालाई सक्रिय रूपमा सीमित गर्ने भन्ने खुलासा गरेपछि ‘माइक्रो ब्लगिङ प्लेटफर्म’मा नयाँ अपडेट ल्याएका हुन्।
मस्कको “ट्विटर फाइल्स“ को दोस्रो किस्ताअनुसार ट्वीटरका कर्मचारीहरूले कालोसूची निर्माण गर्छन् र सक्रिय रूपमा सम्पूर्ण खाताहरूको दृश्यता सीमित गर्छन् जसले अघिल्लो व्यवस्थापनको कम्पनीको लुकेका अभ्यासहरूबारे प्रकाश पार्छ ।
Comments