सपनाबारे केही रोचक तथ्यहरु!

विज्ञहरूका अनुसार हामीले देखेका सपना सबै सझ्नि सक्दैनौँ। सपनाको करीब ९० प्रतिशत जति हिस्सा हामी ब्यूझिँदा बिर्सिने गर्छौं। यो मानिसअनुसार कसैले धेरै सम्झिन सक्छन् भने कसैले कम मात्रामा सम्झिन्छन्। तीमध्ये कतिपय सपना त पूर्ण रुपमा बिर्सिन्छौँ।

हामीलाई सपनामा देखिएका व्यक्ति नचिनेको वा नदेखेको जस्तो लाग्छ तर मनोविज्ञानका अनुसार हामीले पहिलेदेखि नै जानिसकेका‚ देखिसकेका हुन्छौँ। दिमागमा याद नहुनु फरक कुरा हो। हामीले सपनामा देखेका मुहारहरु त्यसभन्दा अगाडि नै हामीले हाम्रो जीवनमा देखिसकेका हुन्छौं।

हामीले देख्ने सपनाहरु प्रायः सादा हुन्छन् अर्थात् रङ्गहीन। कतिपय मानिसहरूले आफूले देखेको सपना रङ्गिन थियो कि सादा थियो भन्ने छुट्याउन सक्दैनन्। मनोवैज्ञानिकका अनुसार उमेर बढ्दै गएपछि सपनाहरु बढी नै सादा हुँदै जान्छन्। कतिपय सपनाहरु सांकेतिक हुन्छन्। अर्थात् वास्तविक जीवनका घटनाहरुबारे जानकारी गराउने वा स्मरण गराउने खालका हुनछन्। सपनामा देखिएका कतिपय घटनाहरू वास्तविक जीवनसँग पनि मेल खाइरहेका हुन्छन्।

हामीले सपना देख्दा आँखाको चालमा परिवर्तन आउँछ। सपना देख्दा आँखा छिटो–छिटो झिम्किन्छ। सामान्य अवस्थामा भन्दा यसको गति तीव्र हुन्छ। यस्तो बेलामा हाम्रो बढी नै दिमाग सक्रिय हुने गरेको पाइन्छ। मनौवैज्ञानिकका अनुसार मानिसले एकै रातमा फरफरक संख्यामा सपना देख्छन्। सामान्यतः स्वस्थ मानिसले हरेक रात ४ देखि ७ वटासम्म सपना देख्ने गर्छ।

हामीलाई लागिरहेको हुन्छ, सपना मानिसले मात्र देख्छन्। तर अनुसन्धानकर्ताहरु जनावरले पनि सपना देख्ने अनुमान लगाउन सकिने बताउँछन्। जनावरहरु निदाएको बेला हामीले पनि असामान्य चाल ख्याल गर्न सक्छौं, त्यो सपनाको प्रभाव हुन सक्छ। बिराल अथवा कुकुरले निदाइरहेका बेला पनि विभिन्न हाउभाउ देखाइरहेका हुन्छन्। यकिन नभएपनि निदाएको बेला उनीहरूको दिमागमा केही न केही चलरहेकै हुने बताइएको छ। कसैले खुट्टा चलाउँछन्‚ कतिपय रुन्छन्‚ केही छट्पाटाउँछन्। यो उनीहरुले सपनामा देखेको क्रियाको प्रतिक्रिया हुन सक्छ।
 

Comments

Back to top