काठमाडौँ आएपछि विजुली देखेका कुलमान घिसिङ यसरी बने लोडसेडिङ हटाउने नायक!

राजधानीलाई लोडसेडिङमुक्त बनाएर चर्चामा आएका पात्र हुन् कुलमान घिसिङ! आम सर्वसाधरण यतिबेला कुलमान घिसिङप्रति कृतज्ञ छन् ।

लोडसेडिङ अन्त्यको नारा लगाएर विगतमा राजनीतिक दलका धेरै नेताले चुनाव जिते, कति सरकार बने र कति मन्त्रि बने! तर लोडसेडिङ अन्त्य गर्ने नारा नारामै सीमित भएको थियो । तर, विद्युत प्राधिरकणको नेतृत्व सम्हालेलगत्तै चोरी र चुहावट रोकेरै उनले राजधानीलाई झलमल्ल पारिदिएका छन् । 

कुलमान घिसिङ रामेछापको एउटा दुर्गम गाउँ बेथानमा जन्मिएका हुन् । उनको प्राथमिक शिक्षा गाउँमै बित्यो। विकट गाउँमा जन्मिएकाले टुकी बालेर पढ्दा निधारमा झरेको उनको कपाल धेरै पटक जल्यो । नाकमा धेरैपटक कालो ध्वाँसो बस्यो । ५ कक्षा पास गरेपछि उनी दाइहरुसँग काठमाडौं आए । जब कुलमान काठमाडौँ आए त्यसपछिमात्रै उनले यहाँ बिजुली देखेका हुन् । 

काठमाडौँ आएपछि उनले बालसेवा माध्यमिक विद्यालयमा र पछि अमरआस बोर्डिङ स्कुलमा पढे। अस्कल क्यापसबाट आईएस्सी गरेपछि उनी छात्रवृत्तिमा भारतमा जम्सेदपुरबाट सन् १९९४ मा इलेक्ट्रीकल इन्जिनियरिङ् गरे। पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट पावर सिस्टम इन्जिनियरिङमा मास्टर्स गर्दा ‘इन्टिग्रेटेड रिसोर्स प्लानिङ विथ डिमाण्ड साइड म्यानेजमेन्ट’मा थेसिस गरेका उनले पोखरा विश्वविद्यालयबाट इएमबीए पनि गरेका छन्। यसर्थ, कुलमान एउटा इन्जिनियरमात्रै होइनन् उनी एक कुशल व्यवस्थापक पनि हुन् । उनको पढाइ र कामको तादाम्यताले पनि अहिले मुर्त रुप पाएको छ । 

प्राधिकरणको निर्देशकमा नियुक्त भएपछि उनी जादुमय तरिकाले राजधानीलाई लोडसेडिङमुक्त बनाएर चर्चामा छन् । यसबाट उनले मुलुकमा तत्काल लोडसेडिङ अन्त्यको सम्भावनामात्रै पुष्टि गरेनन्, यहाँ बर्षौदेखि सर्वसाधरणलाई मारमा पारेर सीमित व्यक्तिले विजुलीको व्यापार गरिरहेको कुराको समेत सांकेतिक पर्दाफास गरेका छन् । 

यसरी, साँच्चै देश र यहाँका नागरिकप्रति समर्पित भएर काम गर्ने हो भने धेरै कुराको सम्भाव्यता रहन्छ भन्ने कुराको उदाहरण कुलमान बनेका छन् ।

Comments

Back to top