मंगलबारदेखि कोरोना बिमा भुक्तानी शुरु

नेपाल बिमा प्राधिकरणले मंगलबारदेखि कोरोना बिमाको भुक्तानी गर्न शुरु गर्ने भएको छ ।

नियामक निकाय प्राधिकरण र बिकम संघको संयुक्त बैठकमा मंगलबार प्राधिकरणले यस्तो निर्देशन दिएको हो ।सञ्चालक समितिबाट निर्णय भइनसकेको भन्दै तत्काल भुक्तानी सुरु गर्न कम्पनीहरूले आनाकानी गरेपछि उनीहरूलाई पर्याप्त समय दिन अर्को सातासम्म पर्खिनुपरेको प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बताउनुभयो ।

निर्जीवन बिमा कम्पनीका सबै प्रमुख कार्यकारी अधिकृत उपस्थित बैठकमा सर्वसम्मत रूपमा मंसिर १३ देखि कोरोना बिमा भुक्तानी सुरु गर्ने निर्णय भएको उहाँको भनाइ छ । सञ्चालक समितिबाट कोरोना बिमा भुक्तानीका लागि थप रकम नदिने औपचारिक रूपमा निर्णय गरेको नेपाल पुनर्बिमा कम्पनीबाट पनि मंगलबारसम्म पैसा आइसक्ने अध्यक्ष सिलवालको दाबी छ ।

पुनर्बिमाबाट पनि आउँदो सातासम्म रकम आउने दाबी गरिरहँदा नेपाल पुनर्बिमा कम्पनी भने पुरानै अडानमा देखिएको छ । नियामक निकायको निर्देशनबमोजिम यसअघि नै १ अर्ब २० करोड रुपैयाँ भुक्तानी गरिसकेकाले थप रकम तिर्न नसकिने नेपाल पुनर्बिमा कम्पनीका अध्यक्ष रवीन्द्र घिमिरेले बताउनुभयो । 

बिमक संघ बिमा कम्पनीहरूको छाता संगठनले  भने कोरोना बिमाको भुक्तानी सुरु गर्न कम्पनीहरूलाई आग्रह गरिसकेको छ ।पहिलो चरणमा कोरोना बिमाका १८ हजार १ सय ८२ जना बिमितले मात्र भुक्तानी पाउने भएका छन्। परेका दाबीमध्ये २५ हजार ८४ वटा व्यक्तिगत र परिवारका छन् ।

कोरोना संक्रमण भएको पीसीआर रिपोर्टका आधारमा पहिले आउनेलाई पहिलो प्राथमिकता (फस्ट कम फस्ट सर्भिस) दिई भुक्तानी दिन संघले कम्पनीहरूलाई आग्रह गरेको छ ।
 

Comments

Back to top