निर्वाचनको पुर्वसन्ध्यामा विवेकशील बन्ने कि!

 

अर्जुनसिंह तुलाचन

 

हामी नेपाली साच्चै भेडा, बाख्रा ,च्यांग्रा आदि जस्ता जनावर भएकै हौँ त ? यदि होइनौं भने हामी किन बेहोशी छौं? अहिले हाम्रो देशको शासकीय संरचना ठुला दलका नेताहरुले आफ्नो स्वार्थबमोजिम आमजनताको हितमा भन्दा पार्टीका हितमा काम गरिरहेका छन्।  देशका जनताबाट भोट लिएर आएपछि उनीहरु आफ्नै हितमा काम गर्छन, आमजनताको हितमा काम गर्दैनन् भने उनीहरुलाई भोट किन दिने? यो चुनाबको समयमा हामी मतदाताहरुले एक पटक गहिरिएर सोच्ने बेला आएको छ।    

मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा भोट हाल्नुअघि गम्भीर भएर नसोँचे देश दुर्घटनामा पर्ने छ। हाम्रो देश नेपालमा करिब ८० प्रतिशतको हाराहारीमा कृषकहरु बसोबास गर्छन। उम्मेदवारहरु किसानकै भोटबाट सत्तामा पुग्ने हुन्, तर तेही किसानका भोटले सत्तामा पुगेकाहरु  सबैभन्दा बढी  पिडित कृषकहरु नै भएको पाईन्छ। किसानले उत्पादन गर्ने मुख्य बाली–वस्तुको उचित बजार नपाएर कयौँ बालि  कुहिएर खेर गईरहेका छन्। विधि र प्रविधिको अनुसरण, साना किसानमा अनुदान, ऋणको पहुँच, सेवा र प्रविधि लगायतमा हामी धेरै पछि छौं। धेरै नीति, रणनीति, योजना बनेका र आयोजना सम्पन्न भए पनि हाम्रो कृषि प्रगतिपथमा लम्किनुको सट्टा गिर्दो र घट्दो छ।  

उत्पादकत्व बृद्धि गरेर निर्यातमुखी कृषिमा अग्रसर बनाउन हामीले उचित उम्मेदवार छानेर भोट दिनु पर्दछ।  त्यसले नै हाम्रो खाद्य सुरक्षामात्र सुनिश्चित गर्नेछैन, हामीलाई आत्मनिर्भर बन्ने बाटोमासमेत अग्रसर गराउनेछ। सत्तामा आएर सबैभन्दा महत्त्वपूर्ण राष्ट्रको स्वाधिनता र आत्मसम्मान बलियो बनाउने कुरा मुख्य हो । गरिबी, अभाव र बेरोजगारीमा रहेका युवालालाई स्वदेशमै आत्मसम्मान हुने र आर्थिक समृद्धि हुने खालका योजना बनाउनुपर्छ।

यीनै कुहिएका आलुजस्ता शासक राजनीतिमा रहेसम्म यो अवस्थामा कसैले परिवर्तन गर्न  सक्दैनन् किनभने नीति बनाउने मानिस स्वयम् आफू र आफ्नाहरुको भरण पोषणमा लिप्त छन्। सारा मानिसले आश भरोसा गरेको मान्छे मन्त्री भएर पदमा पुग्दा पनि कुनै उल्लेखनीय काम नगरी विभिन्न बहाना बनाएर अरुलाई दोष देखाइरहन्छन । सारा नेपालीले माया गरेर दिएको मतलाई समेत वास्ता नगरी आफ्नो पार्टीभित्रको समस्या व्यवस्थापन गर्न नसकी संसदीय व्यवस्थाको आस्थाको केन्द्रको रुपमा रहेको संसदलाई नै बिघटन गरिदिन्छन्।

 

हाम्रो देश नेपाल प्राकृतिक सुन्दरताले भरिएको देश हो।  यहाँ पर्यटन व्यवसाय फस्टाउने सम्भावना प्रबल छ। यस्तै, पर्यटकिय सम्भावना बोकेको ठाउँ मेरो जन्म भुमि मुस्ताङ हो।  मुक्तिनाथ क्षेत्र रहेको यस ठाउँले वार्षिक १ करोड भन्दा माथि पर्यटकहरु आउने सम्भाना बोकेको छ।  हाम्रो मुलुकमा आर्थिक अवस्था सुधार उल्लेख्य भूमिका खेल्नसक्ने हुँदाहुँदै पनि यस सम्बन्धमा यहाँका बेहोसी नेताहरुले कुनै व्यवस्था अपनाउन सकेका छैनन्।
 

जनताको खुशी र सुखी जीवन बनाउने महत्त्वपूर्ण काम र दायित्व  देशका शासकहरुले लिएका छन्। त्यसलाई पुरा गर्नका लागि स्थानीय स्तरमा संचालन गर्नसक्ने साना उद्योग, सीप विकासका योजना, खेल क्षेत्रको विकास, पर्यटन प्रवर्द्धन र पर्यटकीय क्षेत्रको विकासलगायतका समृद्धि विकासका लागि प्रभावकारी योजना बनाएर अघि बढ्न जरुरी छ ।  त्योसँगै शिक्षा, स्वास्थ्य, पूर्वाधारको थप विकासलाई पनि हामीले सँगसँगै अगाडि बढाउने गरी प्रतिबद्धता गरेका छौं ।  प्रत्येक स्वास्थ्य संस्थामा डाक्टरसहितको सुविधा, महिलाका लागि महिलाका लागि आयआर्जन हुने कार्यक्रम, किसानलाई मल, बिउ र कृषि विज्ञ उपलब्ध बनाएर कृषिलाई उन्नत बनाउने विषयमा पनि हाम्रा देशका शासकहरु गम्भीर हुन आवश्यक छ। त्यसका लागि प्रभावकारी योजनाका साथ अघि बढ्नु पर्दछ।
 

यस्तै, हाम्रा देशका नेताहरुलाई पशुसँग तुलना गरेको छु किनभने उनीहरुसँग बल हुन्छ तर बुद्धि, विवेक हुँदैन। तसर्थ हाम्रा देशका नेताहरु विवेकहिन   पशुजस्तै भएका छन्। अब यी  पशुतुल्य  नेताहरु लाई तह लगाउन हामीले आफ्नो भोट उचित उम्मेदवारलाई  दिनु पर्दछ।  यस्ता गोरुजस्ता नेताहरुलाई सत्ताबाट नहटाए सम्म हामो देशको विकासले राम्रो गति लिन सक्दैन। त्यसैले भोट दिनुअघि हामी आमनेपालीले एक पटक गम्भीर भएर सोँचनै पर्ने समय आएको छ। 

Comments

Back to top