श्रीमान-श्रीमतीबीच स्वस्थ सम्बन्ध बनाउन यसो गर्नुहोस्‌

अहिलेको जिवनशैली प्राय व्यस्तताले नै भरिएको हुन्छ। श्रीमान श्रीमती दुबै काम गर्ने हुन्छ्न्।दुबै जनाले काम नगरे घर चलाउनको लागि र बच्चाहरूलाई शिक्षा दीक्षा,पालन पोषण गर्न नसकिने झै भईसकेको छ।दुबै जना कामकाजी भईसके पछि श्रीमान-श्रीमती बीच संगै बिताउने समय कहाँ हुन्छ र? परिवर्तनशील संसारमा श्रीमान-श्रीमती बीच कसरी राम्रो, दिगो र स्वस्थ्य सम्बन्ध बनाउने भन्ने कुरामा ध्यान दिनु पर्ने हुन्छ। मायालु सम्बन्धलाई सावधानीपूर्वक ध्यान र निरन्तर पालनपोषण चाहिन्छ । तर तपाईं दिनभरि दौड्दै गर्दा धेरै अन्य मागहरू पूरा गर्ने प्रयास गर्दा त्यो दृष्टि गुमाउने प्राय: देखिन्छ।

श्रीमान् र श्रीमतीको सम्बन्धलाई सुदृढ पार्न स -साना कुराहरुको ख्याल गर्नु धेरै महत्त्वपूर्ण छ। श्रीमान् र श्रीमतीको सम्बन्धमा यी साना कुराहरुको ख्याल नगर्दा सम्बन्धमा दूरी बढ्न थाल्छ। जुन कुरा पनि समय बित्दै जाँदा पुरानो महत्वहीन् अथवा बासी हुन थाल्छ । जीवन पनि एकै प्रकारको दैनिकी एकै किसिमको धारमा चलिरहेको छ भने यही जीवनबाट जो-कोहि पनि दिक्क हुनसक्छन् । यहि कुरा सम्बन्धमा पनि लागु हुन्छ । सम्बन्ध पनि बिस्तारै-बिस्तारै दैनिकी जस्तै बन्न थाल्छ । केही समयपछि सम्बन्धमा पहिलाको जस्तो उर्जा र आकर्षण हुँदैन । तर सम्बन्धमा उर्जा र आकर्षण भैरहनु अति नै महत्वपूर्ण छ । त्यसैले जसरी हामी पुराना सर-सामानलाई पोलिश गरेर नयाँ बनाउँछौं, टल्काउँछौ, त्यसैगरि हाम्रो सम्बन्धलाई पनि समय समयमा माझ्नु आवश्यक छ । समय-समयमा गरिने पोलिशले सम्बन्धमा चमक र उर्जा यथावत रहन्छ । आज हामी तपाईंहरुलाई सम्बन्धमा सधैँ रौनक कायम राखीराख्न केहि टिप्सहरु दिँदै छौँ । ती यस प्रकार छन् :

केही नयाँ गर्नु पर्छ : जब तपाईलाई आफ्नो सम्बन्ध एउटा दैनिकी जस्तो बन्न थालेको अनुभव हुन्छ, त्यही बेला केही त्यस्तो नौलो काम गर्नुहोस् जसले अरुलाई हामीले त यो बारेमा सोचेकै थिएनौं भन्ने अनुभव होस् । यसो गर्दा तपाईंको सम्बन्धमा केही नयाँपन आउँछ । त्यस्तो नयाँपन तपाईं कुनै पनि तरिकाबाट ल्याउन सक्नुहुन्छ । तपाईंको नराम्रो बानी हटाएर अथवा कुनै सरप्राइजको माध्यमबाट आफ्नो पार्टनरलाई खुशी दिन सक्नु हुन्छ ताकी उसलाई पनि आफ्नोलागि केहि गरेको महसुस होस् ।

रोमान्टिक लाईफ रिक्रिएट गर्नुपर्छ : समय बित्दै जाँदा हरेक व्यक्तिको व्यवहार पनि बढ्दै जान्छ । त्यस्तो अवस्थामा जीवनबाट रोमान्स लगभग हराउँदै जान्छ । रोमान्सको ठाउँ जिम्मेवारीले लिन थाल्छ । तर तपाईंले आफ्नो जीवनबाट रोमान्सलाई हराउन दिनु हुँदैन । रोमान्सको लागि केवल भावना भए पुग्छ । महंगो उपहार दिने अथवा अन्य कुनै क्रियाकलापको आवश्यक पर्दैन । आफ्नो साथीलाई समयसमयमा आफुले कति माया गर्छु भन्ने कुरा महसुस गराउन सक्नु हुन्छ । कहिलेकाहीँ मायालु बोलीसहित फोन गरेर, कहिले प्रेमका दुई-चार अक्षरका म्यासेज गरेर, अनि कहिलेकाहिं अफिसबाट घर छिट्टै घर आएर पनि तपाईंले सरप्राइज दिन सक्नु हुन्छ । त्यस्तै कहिलेकाहिं बाहिर डिनर गएर अथवा फिल्म हेर्न लगेर पनि तपाईंले आफ्नो जीवनलाई रोमान्टिक बनाउन सक्नु हुन्छ । कहिलेकाहिं आफ्नो साथीलाई मन पर्ने खाना बनाएर पनि रोमान्टिक बन्न र बनाउन सक्नुहुन्छ । यी सबै कुरा नै गर्नु पर्छ भन्ने छैन ।कम्तिमा एउटा अथवा दुई वटा कुरा गरेर हेर्नुस्, तपाईंको वैवाहिक जीवनमा सुखद परिवर्तन आउने छ ।

मनको कुरा व्यक्त गर्न गाह्रो मान्नु हुँदैन : यदि कुनै कुराले तपाईलाई समस्या दिएको छ अथवा आफ्नो जीवनसाथीको बारेमा केहि फरक महशुस गर्नु भएको छ भने यो कुरा आफ्नो जीवनसाथीलाई बताउनु पर्छ । मनमा भएको कुरालाई भन्नु बुद्धिमानी हुन्छ । यसले सम्बन्धलाई बलियो बनाउन सहयोग गर्छ । मनमा कुरा राख्दा कुरामात्र होइन समस्या पनि झन्-झन बढ्दै जान्छ । हरेक कुरा शेयर गर्नुहोस् : आफ्नो दुःख, सुख, आफ्नो प्राप्ति, प्रयास आदि हरेक कुरा शेयर गर्नु पर्छ । सम्बन्धमा शेयरिङ अति नै आवश्यक छ । यसले एक-अर्काप्रतिको प्रेम र विश्वास अझै बढ्दै जान्छ ।

सल्लाह पनि लिनुपर्छ : आफुलाई सबै भन्दा स्मार्ट छु भन्ने सोच्नु गलत हो । आफ्नो पार्टनरसंग सल्लाह लिनु पर्छ । यदि सल्लाह सही छ भने त्यसलाई अमल पनि गर्नुहोस् । यसले तपाईको पार्टनरलाई तपाइर्ंले उसलाई कति महत्व दिनुहुन्छ भन्ने कुराको अनुभव हुन्छ । यसले तपाईको सम्बन्धमा अपनत्व अझ बढाउँछ । सहयोग गर्ने र जिम्मेबारी बाँड्नुहोस् : दुबैले एक-अर्काको काममा सहयोग गर्नु पर्छ । यसले काम हल्का हुन्छ र जिम्मेवारीहरु पनि कम हुन्छ । सधैं कुराकानी गरेर जिम्मेबारी बाँडफाँड गर्नु पर्छ ।

पार्टनरलाई दुःखी बनाउनु हुन्न : यदि तपाईंको कुनै कुराले पार्टनरलाई दुःख लाग्छ भने बिर्सिएर पनि त्यो कुरा गर्नु हुँदैन । यदि थाहा नपाई त्यस्ता केही कुरा भैहालेमा माफी माग्नु पर्छ र भविष्यमा त्यस्तो गल्ति नदोहोरिने बचन पनि दिनु पर्छ । तपाईंको लागि सामान्य लाग्ने कुरा पार्टनरको लागि मनमा गड्ने हुनसक्छ । त्यसैले आफुले बोल्दा अथवा व्यवहार गर्दा यी कुराहरुमा ध्यान दिनु आवश्यक छ । नराम्रो बानी हटाउनु पर्छ । तपाई धुम्रपान गर्नु हुन्छ र तपाईंकी श्रीमतीलाई मन पर्दैन । तपाईंकी श्रीमतीको धेरै खर्च गर्ने बानी छ भने एक-अर्कासँग आफ्नो नराम्रो बानी त्याग्ने च्यालेन्ज गर्नुहोस् । यसले तपाईंको पार्टनर त खुशी हुन्छ नै साथमा तपाईको नराम्रो बानी पनि हट्छ ।

फिटनेसलाई वेवास्ता गर्नु हुँदैन : कुनै पनि सम्बन्धमा फिटनेसको धेरै महत्व हुन्छ । यसले तपाई स्वस्थ त हुनु नै हुन्छ साथै यसले तपाईंको सम्बन्धलाई पनि सबल बनाउँछ । एक अर्काको लागि फिटनेस च्यालेन्ज गर्नुहोस्, संंगै हिँड्ने, कुुद्ने र व्यायाम गर्नुहोस् । यसो गर्दा तपाईं एक-अर्कासँग समय पनि साथै बिताउन सक्नु हुन्छ । केही कुरा बेवास्ता पनि गर्नुपर्छ : हामी सबैको सोचाई एकै प्रकारको हुँदैन । तपाईलाई आफ्नो पार्टनरको सबै कुरा मन नपर्न सक्छ । बारम्बार त्यो कुरामा कराइरहनु भन्दा त्यो कुरालाई बेवास्ता गर्नुहोस् अथवा मायालु तरिकाले सम्झाउनुहोस् । सम्बन्ध प्रगाढ बनाउनका लागि कुनै-कुनै कुरालाई बेवास्ता गर्न अथवा सम्झौता गर्नु आवश्यक छ । पार्टनरलाई अलग व्यक्तित्त्वझैँ सम्मान दिनुहोस् । उसलाई आफु जस्तो बनाउने कोशिसले तपाईं निराश हुन सक्नुहुन्छ ।

सेक्स लाइफलाई उर्जाशील बनाउनु पर्छ : तपाईको सेक्स लाईफले पनि तपाईंको सम्बन्धमा महत्वपुर्ण भुमिका खेलेको हुन्छ । आफ्ना सर-सफाईदेखि पार्टनरको आवश्यकतालाई पनि ध्यान दिनुहोस् । सेक्सलाई एउटा कामको रुपमा लिनु हुँदैन । यसलाई सुन्दर बनाउनका लागि बेडरुम फरक तरिकाले सजाउने, मीठा-मीठा कुरा गर्ने आदिले तपाईको सेक्स लाईफमा केही न केही सुखद परिवर्तन अवश्यक आउँछ । सेक्सलाई शारीरिक मिलनमात्र नठानी भावनात्मक तरिकाले जोडिन प्रयास गर्नुपर्छ । सेक्सपछि उता फर्केर घुर्किन सुरु गर्न हुन्न । एकछिन आफ्नो साथीसँग कुरा गर्नुपर्छ। एक अर्कालाई केयर, माया र सम्मान दिनुपर्छ ।

यसरी, सधैँ आफ्नो पार्टनरलाई आफूभन्दा अगाडि राख्नुपर्छ । पार्टनरको इच्छ्या-आकांक्षा पूरा गर्नुपर्छ । आफ्नो जोडीलाई सधैँ माया र प्रोत्साहन दिनुपर्छ । मुड अफ भएको बेला बोल्नुहुन्न । जोडीसँग आफ्नो आनन्द बाँड्नुपर्छ । उसबाट आनन्द निकाल्ने प्रयास गर्नु व्यर्थ हुन्छ । एकअर्काले दिनहुँ सम्बन्ध सुमधुर बनाउन केहि न केहि गरिनै रहनुपर्छ । मायाका सिमाहरु नाघ्न हुँदैन । निशर्त माया केवल उपन्यासमा सुहाउँछ । वास्तविक जिन्दगीमा शर्तहरु हुन्छन् । ती शर्तहरुलाई सम्मान गरी अगाडि बढ्नुपर्छ । एक-अर्कालाई माया र सम्मान गरी अगाडि बढे वैवाहिक जीवन अवश्य नै सुमधुर हुन्छ । बाँकि कुरा विवाहले सिकाउँदै गर्छ त्यसलाई मनन गरी अगाडि बढे सम्बन्धमा माधुर्यता कायम नै रहन्छ ।

Comments

Back to top