डलरको भाउ बढ्दै, जापानी येन ३२ वर्ष यताकै कमजोर बन्दै!
जापानी मुद्रा येन अमेरिकी डलरको तुलनामा ३२ वर्ष यताकै सबभन्दा कमजोर स्थितिमा पुगेको छ।
अमेरिकामा अपेक्षा गरिएभन्दा तीव्र गतिमा मूल्यवृद्धि भइरहेका आधिकारिक आँकडा सार्वजनिक भएपछि जापानी येन न्यून विन्दुमा पुगेको थियो।
प्रति अमेरिकी डलर १४७.६६ येन पुगेको थियो र पछि त्यो अलिकति माथि उक्लियो।
जापानका अर्थमन्त्री शुनिची सुजुकीले मुद्रा अस्थिर बनेको विषयलाई सम्बोधन गर्न उचित कदम चालिने बताएका छन्।
एउटा दुर्लभ प्रकृतिको कारबाही गर्दै गत महिना जापानले आफ्नो कमजोर बन्दै गएको मुद्रालाई उकास्न २० अर्ब डलर खर्च गरेको थियो।
"सट्टेबाजी शैलीद्वारा निर्देशित मुद्रा बजारको अस्थिरता हामी सहने छैनौँ। निकै गम्भीरताका साथ हामी मुद्रा बजार नियालिरहेका छौँ," सुजुकीले वाशिङ्टन डिसीमा जी सेभेन समूहको बैठकपश्चात् पत्रकारहरूलाई भनेका थिए।
स्रोत: बीबीसी
Comments