पुटिनसँग युक्रेन युद्धबारे कुरा गरेको एलन मस्कद्वारा अस्वीकार

विश्वका धनाढ्य व्यक्ति एलन मस्कले ट्विटरमा युक्रेनमा रुसी अतिक्रमण अन्त्य गर्ने आफ्ना सुझाव रहेको पोल (एक किसिमको मत सर्वेक्षण) पोस्ट गर्नु अगाडि उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुरा गरेका भन्ने विवरणलाई असत्य भन्दै अस्वीकार गरेका छन्।

युरेसिया ग्रुपको राजनीतिक जोखिमसम्बन्धी परामर्शदातृ निकायका प्रमुख इयान ब्रेमरले पुटिनसँगका कुराकानीबारे उनलाई मस्क स्वयंले बताएको आरोप लगाएका थिए।

तर मस्कले उक्त कुरा अस्वीकार गरेका छन्।

'पुटिनसँग भएको छैन कुराकानी',मस्कले हालसालै आफूले पुटिनसँग कुरा नगरेको बताएका छन्।

'मैले पुटिनसँग केवल एकपल्ट त्यो पनि १८ महिना अगाडि कुरा गरेको थिएँ। उक्त कुराकानीको विषय अन्तरिक्ष थियो,' मस्कले भने।

ट्विटरमा १० करोड ७० लाख फलोअर भएका मस्कले गत साता युक्रेन युद्ध समाधान गर्ने उपायबारे मत प्रकट गर्न आफ्ना फलोअरहरूलाई आह्वान गरेका थिए।

त्यसमा उनले रुसले गाभेका युक्रेनी भूभागमा चुनाव गराउने प्रस्ताव पनि थियो।

खर्बपति मस्कले ट्वीटरमा लेखेका थिए, 'यदि त्यहाँका मानिसले (विपरीत) मत दिए रुसले छाड्नुपर्छ।'

किएभ तथा उसका पश्चिमा समर्थकहरूले अवैध भनेको जनमत सङ्ग्रह गराएर राष्ट्रपति पुटिनले चार युक्रेनी भूभागलाई रुसमा गाभेको घोषणा गरिसकेका छन्।

--एजेन्सी

Comments

Back to top