विकासशील देशलाई विश्वव्यापी अर्थतन्त्र सङ्कटको सामना गर्न ऋण राहत दिनुपर्नेमा युएनडिपीको जोड
विश्वका आधाभन्दा बढी गरिब जनताको हिस्सा ओगटेका ५४ वटा विकासशील अर्थतन्त्रलाई विश्वव्यापी सङ्कटका कारण उत्पन्न समस्या सम्बोधन गर्न तत्काल ऋण राहत दिनुपर्नेमा संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)ले जोड दिएको छ ।
विकासशील ५४ वटै देश गम्भीर ऋण समस्यामा रहेका तथा जलवायु जोखिमको उच्च सूचीमा रहेका विश्वका ५० राष्ट्रमध्ये २८ वटालाई चरम वित्तीय आवश्यकता रहेको युएनडिपीले बताएको छ । ती देशले ऋण पुनःसंरचनामा पहुँच नपाएमा गरिबी बढ्ने तथा जलवायु अनुकूलनका निम्ति आवश्यक लगानी गर्न नसक्ने उसको विश्लेषण छ ।
गरिबीको दुष्चक्रबाट उनीहरूलाई जोगाउन तथा उनीहरूको ऋणको बोझ व्यवस्थापनमा अन्तर्राष्ट्रिय समुदायले विलम्ब गर्ननहुनेमा उक्त संस्थाले जोड दिएको छ । दिगो विकासका लक्ष्य प्राप्तिका लागि प्रभावकारी ऋण पुनःसंरचनाका साथै ऋण राहतको प्रस्ताव पनि युएनडिपीले अन्तर्राष्ट्रिय समुदाय एवम् धनी राष्ट्रसँग गरेको छ।
Comments