हिमालयन हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन
हिमालयन हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज असार १९ गते आइतबार अन्तिम दिन हो । लगानीकर्ताले आज कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्नेछ । कम्पनीको आइपीओमा शुक्रबार (असार १७ गते) दिउँसो २ बजेसम्ममा १ अर्ब १३ करोड ७७ लाख ३७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार शुक्रबार दिउँसो २ बजेसम्ममा ९ लाख ८९ हजार ६३८ जनाले १ करोड १३ लाख ७७ हजार ३७० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा ६.२१ गुणा बढी आवेदन हो ।
यसले असार १५ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरिएको छ । कम्पनीले १९ करोड ६८ लाख २५ हजार रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो । यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले १९ लाख ६८ हजार २५० कित्ता साधारण सेयर निष्कासन गरेको हो । योमध्ये ५% अर्थात् ९८ हजार ४१३ कित्ता सामूहिक लगानी कोष र २% अर्थात् ३९ हजार ३६५ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ ।
बाँकी १८ लाख ३० हजार ४७२ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । यो आइपीओमा ग्लोबल आइएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
रेटिङ एजेन्सी इक्रा नेपालले हिमालयन हाइड्रोपावरको आइपीओलाई ‘इक्राएनपी इस्यूअर रेटिङ बी प्लस’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ । इक्राले २०७८ चैत १७ गते उक्त रेटिङ दिएको थियो । यो रेटिङको म्याद २०७९ चैत १४ गतेसम्म बहाल रहन्छ । लगानीकर्ताले मेरो सेयरबाट आवेदन दिन सक्नेछन् ।
Comments