स्वस्थ जीवनशैली कस्तो हुनुपर्छ ?
समग्रमा हेर्दा मानिसको अस्तित्व पाँच आयामहरुमा चलिरहेको हुन्छ। ती हुन् शारीरिक, प्राणिक,मानसिक, बौद्धिक र आत्मिक ।यी आयामहरु पूर्ण हुनु जस्तै शरीरमा निरोग र गतिशिलता, प्राणमा उत्साह, मनमा एकाग्रता, बुद्धिमा नयाँ सोच र आत्मामा आनन्द हुनु नै स्वस्थ्य जीवन हो । यस्तो पूर्ण जीवन पाउनको लागि अवलम्बन गरिने उपायहरु नै स्वस्थ जीवनशैली हो ।
सामान्यतया, शरीर शुद्धिकरणको लागि सरसफाई र व्यायाम , प्राण शुद्धिकरणको लागि प्राणायाम र खेलकुद,मन शुद्धिकरणको लागि असल संगत र पुस्तक अध्ययन ,बुद्धि शुद्धिकरणको लागि सकरात्मक सोच र महान विचारकहरुको अध्ययन र आत्मा शुद्धिकरणको लागि योग-ध्यान गर्नु पर्दछ।
स्वस्थ जीवनशैलीका लागि सन्तुलित भोजन,शुभविचार, शुभ-आचरण, निद्रा-विश्राम आदिको आवश्यकता पर्दछ । यस्तो जीवनशैलीलाई व्यवहारमा उतार्न स्वस्थकर नियमको पालना गर्नुपर्छ ।आजको तिब्र गतिको संसारमा समयको अभावले गर्दा समाजले हामीलाई अस्वस्थ जीवनशैली अपनाउन बाध्य पारिरहेको छ । स्वस्थ जीवन जिउन सबैले सम्झौता गरिरहेका छन् । आज हामी फास्टफुड र चिनीले भरिएको खाजा खान्छौँ, कम सुत्छौँ , कम व्यायाम गर्छौं, कम बोल्छौँ तर चिन्ता बढी गर्छौँ जस्तै बालबालिकाको पढाइ, हाम्रो खर्च आदि। हामीमध्ये धेरै यस जीवनको यात्रामा छिटो दौडिरहेका छौँ।
राम्रो स्वास्थ्यको आनन्द लिनको लागि हामीले खाने खानेकुरा, हामीले संगत गर्ने व्यक्तिहरू, हामीले हेर्ने र पढ्ने तस्विर र कार्यक्रमहरू, समयको मात्रा जस्ता केही पक्षहरूमा ध्यान दिन आवश्यक छ। तपाईं कत्तिको सम्मान गर्नुहुन्छ र तपाईं कस्ता मानिसहरूलाई आदर गर्नुहुन्छ? यस्ता असीमित सुझावहरू युगौंदेखि हाम्रो लोकसाहित्यको हिस्सा बनेका छन् तर आजको आधुनिक युगमा हामीमध्ये धेरैले यो बुद्धिलाई त्यागेका छौं।
सन्तुलित वा शुद्ध भोजनले शरीरलाई प्रफुल्लित, ऊर्जामय तथा ओजपूर्ण बनाउँदछ । त्यही ऊर्जा तत्त्वनै जीवनको इन्धन हो । इन्धन राम्रो भयो भने त्यसबाट निस्कने ओजतेज पनि राम्रो हुन्छ । भोजन भन्ने कुरा अघाउनका लागि मात्र खाने होइन । जुन भोजनले जीवन स्वस्थ, ऊर्जावान्, प्रफुल्ल र निरोगी बनाउँछ त्यो उचित भोजन हो । जस्तो अन्न त्यस्तै मन जस्तो मन त्यस्तै बुद्धि अनि सोहीअनुसार कर्म हुन्छ भनी शास्त्रमा भनिएको छ । भोजन पोषणतत्ववसँगै शुद्ध, सात्विक र गुणयुक्त हुनु अति जरुरी छ । सन्तुलिन भोजनभित्र प्रोटिन, भिटामिन, कार्बोहाइडेर्ट, खनिज तथा रसपूर्ण हुनुपर्दछ ।
हुन त आजकल माछा, मासु, अन्डालाई सन्तुलित भोजन भन्ने गरिन्छ । मांसहारमा प्रोटिन त प्रशस्त होला, तर पर्याप्त भिटामिन, मिनरल तथा प्राकृतिक वनस्पतीय तत्त्व हुँदैन । प्रोटिन शरीरको वृद्धि गर्ने तत्वव हो यसमा रोगसँग लड्ने सक्ने क्षमता हुँदैन । मांसाहारी मानिसहरू बढी रोगी हुने गर्दछन् । सात्विक भोजनमा पोषक तत्वव हुन्छन् जसमा ताजापन, सुपाच्य, हल्कापन, शुद्ध र रोगसँग लड्न सक्ने क्षमता भएको प्रचुर मात्रामा भिटामिन हुन्छ । यसैले स्वस्थ जीवनको लागि सात्विक भोजन नै लाभकारी हुन्छ । सात्विक भोजनमा चामल, मकै, गहुँ, करेला, फर्सी, काँक्रो, आलु, मूला, सिमी, बोडी, भटमास, केराउ, हरियो सागपात, फलफूल, दूध, दही, घिउ आदि पर्दछन् ।खराब जीवनशैली रोगहरूको प्रमुख कारण हो भने स्वस्थ जीवनशैली आरोग्य जीवनको आधारमात्र नभएर रोगहरूको औषधि पनि हो । खराब जीवनशैलीका कारण ९० प्रतिशत रोगहरू जन्मन्छन् । स्वस्थ जीवनशैलीबाट नै ९० प्रतिशत रोगहरू ठीक हुने गर्छन् । मधुमेह, उच्च रक्तचाप, मुटुका रोग तथा मानसिक रोग (नकारात्मक सोचका कारण) जस्ता डरलाग्दा रोगहरू अनुचित जीवनशैलीकै उपज हुन् । यस्ता रोगबाट मुक्त हुन आफ्नो जीवनशैली परिवर्तन गर्न आवश्यक छ ।
मकैझैँ मुठीभरि औषधि खाएरमात्र कुनै हालतमा पनि यस्ता रोगहरूबाट मुक्त हुन सकिँदैन । स्वस्थ र निरोगी जीवनका लागि जीवनशैली ठीक राख्न जरुरी छ । स्वस्थ जीवनशैलीका लागि एक पैसा पनि खर्च गर्नु पर्दैन । आहार विहार र विचारमा ध्यान दिए पुग्छ । यहाँ आहारको अर्थ व्यापक छ । मुख र जिब्रोले लिने खाद्य पदार्थलाई मात्र आहार मान्नु हुँदैन । आहारको अर्थ हुन्छ, बाहिरको चिज शरीर भित्र लिनु । जेसुकै कुरा पनि हामीले बाहिरबाट भित्र लिन्छौं भने त्यो सब आहार हो ।
स्वस्थ जीवनको शुभविचारले पनि मानिसलाई निरोगी बनाउन सहयोग गर्दछ । औषधिले भन्दा कैयौं गुणा रोगको निदान गर्ने शक्ति शुभविचारमा हुन्छ । संसारमा धामी झाँक्रीहरूले उपचार गर्दा पनि कतिपय कठिन रोगहरू निको भएको उदाहरण हामीले पाउन सक्छौँ । यसको मूलकारण उच्च विचार, सद्भावना र विश्वासको फल हो । कैयौं आयुर्वेदिक, होमियोप्याथिक, एलोप्याथिक औषधिहरू खाएर कठिन रोगहरू ठीक भएको हामीले थुप्रै उदाहरण पाउँछौं । औषधिले काम गरे पनि नगरे पनि रोगीको मनमा जति दृढ विश्वास जगाउनु सक्यो त्यत्ति रोगको निदान भएको पाइन्छ । दृढ विचार र आत्मविश्वास जति भयो त्यत्ति रोगबाट उन्मुक्ति पाउन सकिन्छ । राम्रो विचारले मन र मस्तिष्कलाई विशेष ऊर्जा प्रदान गर्दछ । त्यही ऊर्जा शक्तिको प्रादुर्भावले शुभसंकल्पको सिर्जना भई कमजोरी समाप्त हुन्छ । शुभ संकल्पले शुभकर्म हुन्छ र शुभकर्मको प्रतिफल सफलता हो । स्वस्थ विचार, स्वस्थ जीवन तथा स्वस्थ भावनाले मानिसलाई उन्नतितर्फ उन्मुख गराउँछ ।
सधैँ सन्तुलित भोजन खानुहोस्, व्यायाम गर्नुहोस्, सकारात्मका सोच राख्नुहोस् र सदैव खुसी हुने प्रयास गर्नुहोस् । खुसी रहन चाहने मानिसले स्वास्थ्यसँग जोडिएका जानकारी लिने काम पनि गर्छन् । त्यसैले स्वस्थ जीवनशैली अपनाउनको लागि आफ्नो खुसीमा पनि ध्यान दिनुहोस् ।कसैसँग कुराकानी गर्दा थोरै मुस्कुराउनुहोस् र हाँस्दा दिल खोलेर हाँस्ने कोसिस गर्नुहोस् । तपाईं धेरै राम्रो र स्वस्थ महसुस गर्नुहुनेछ ।यसरी, आहार, विहार र विचार राम्रो राख्नसके हामी स्वस्थ हुन्छौँ भन्ने कुरामा दुईमत छैन ।
Comments