लगानीकर्ताले कुरिरहेको मौद्रिक नीतिमा ४/१२ क्याप र तरलता अभाव सम्बोधन होला ?
आगामी आर्थिक वर्ष २०७९ र ८० को मौद्रिक नीति बनाउने चटारोमा राष्ट्र बैंक छ । चालु आर्थिक वर्ष सकिन १९ दिन मात्रै बाँकी छ । यो १९ दिनको अवधिभित्र मौद्रिक नीति ल्याउने तयारी भइरहेको छ ।
राष्ट्र बैंक अनुसन्धान विभागका कर्मचारी आर्थिक वर्षको जेठ महिनाको मुलुकको आर्थिक अवस्थाको तथ्यांक जोड घटाउमा व्यस्त छन् । त्यो विवरण सार्वजनिक गरेलगतै मौद्रिक नीति ल्याउने तयारी राष्ट्र बैंकले गरिरहेको छ ।
मुलुक यतिबेला मौद्रिक नीतिको बहसमा छ अर्थात् अर्को वर्षका लागि कस्तो मौद्रिक नीति ल्याउला भन्नेमा सर्वसाधारणको पनि चासो उत्तिकै छ ।
खासगरी, राष्ट्र बैंक अनुसन्धान बिभागका कर्मचारी मौद्रिक नीतिमा समावेश गर्नु पर्ने बिषय नछुटाउने उद्देश्यले अहोरात्र खटिएका छन् ।
विगतका वर्षहरुमा मौद्रिक नीति साउनको पहिलो हप्ता भित्र सार्वजनिक गरिएको थियो । यस बर्षको मौद्रिक नीति असार महिना भित्र ल्याउने तयारी गरिएको छ ।
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गत आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति साउन २९ गते ल्याएका थिए । सरकार परिवर्तनसँगै बजेट केही फेरबदल गर्दा समय लागेकाले साउनको अन्तिम सातामात्रै मौद्रिक नीति सार्वजनिक गरिएको थियो ।
त्यसभन्दा अघि आव २०७७/७८ को मौद्रिक नीति साउन २ गते ल्याइएको थियो । त्यसअघि चिरञ्जीवि नेपालको गभर्नर हुँदा पनि साउन २ गते नै मौद्रिक नीति ल्याइएको थियो ।
आगामी वर्षका लागि सार्वजनिक गरिएको बजेटमा ८ प्रतिशतको आर्थिक बृद्धि र ७ प्रतिशत मूल्य बृद्धिको सीमा निर्धारण गरिएको छ । नेपाल राष्ट्र बैंकले आगामी वर्षका लागि ल्याउने मौद्रिक नीतिले पनि बजेटले निर्धारण गरेको सीमा भित्र रहेर मौद्रिक नीति ल्याउनु पर्ने हुन्छ ।
तर, अर्थविद्हरु तरलताको अभावका कारण आर्थिक बृद्धि ८ प्रतिशत हासिल गर्न चुनौतिपूर्ण हुने बताएका छन् । यसैगरी, रुस र युक्रेन युद्धका कारण मुल्य बृद्धि ७ प्रतिशतमा सीमित गर्न पनि निकै कठिन हुने बताएका छन् ।
यतिबेला सेयर लगानीकर्ता, बैंक तथा वित्तीय क्षेत्रमा मौद्रिक नीतिको प्रतिक्षामा छन् । ३२ सय अंक नजिक पुगेको नेप्से १९ सय अंक नजिक आएकाले पनि मौद्रिक नीतिको प्रतिक्षामा लगानीकर्ताहरु बसेका हुन् । सेयर लगानीकर्ता पर्ख र हेरको अवस्थामा छन् । उनीहरुको आकांक्षा पनि मौद्रिक नीति कस्तो आउला भन्ने छ । अगामी मौद्रिक नीतिमा ४/१२ के गर्ला भन्ने कौतुहलता लगानीकर्तामा छ ।
एक सेयर लगानीकर्ताले अर्को लगानीकर्तालाई भेट्दा पनि ४/१२ को नीतिका बारेमा कुरा गर्ने गर्छन्, राष्ट बैंकले ४/१२ को नीति परिवर्तन गर्ला कि यथावत राख्ला भन्ने कुरा गर्ने गर्छन् ।
४/१२ को नीतिको नीति प्रति लगानीकर्ता चिन्तित छन् । ४/१२ को नीतिको बिषय थप बहसको बिषय बन्दै गएको छ ।
नेपाल राष्ट्र बैंकले ल्याएको ४/१२ को नीतिलाई सम्बोधन गर्ने हो भने मात्र पनि सेयर बजारमा सुधार देखिने नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष राजन लम्साल बताउँछन् ।
“आगामी मौद्रिक नीति मार्फत ४/१२ को नीति सम्बोधन गरिदिने हो भने धेरै जसो समस्या समाधान हुन्छन्,” उनले भने, “त्योसँगै अहिले तरलताको अभाव ज्यादै छ, त्यसलाई पनि सम्बोधन गर्ने हो भने पनि बजार लयमा फर्किने थियो ।”
Comments