सूर्या लाइफ र ज्योति लाइफको सेयर कारोबार रोक्का
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सूर्या लाइफ (SLICL) र ज्योति लाइफ इन्स्योरेन्सको सेयर कारोबार रोक्का गरेको छ । आइतबार दुई कम्पनीबीच मर्जरमा जाने प्रारम्भिक सम्झौता गरेपछि नेप्सेले कारोबार रोक्का गरेको हो ।
सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्स (JLI) बीच आइतबार मर्जर सम्बन्धी प्रारम्भिक सम्झौता भएको थियो ।
होटल यक एण्ड यतिमा आयोजित एक कार्यक्रममा मर्जर सम्बन्धी सम्झौता पत्रमा सूर्या लाइफ इन्स्योरेन्सको तर्फबाट अध्यक्ष केशव प्रसाद भट्टराई र ज्योति लाइफको तर्फबाट पनि अध्यक्ष नन्द किशोर शर्माले हस्ताक्षर गरेका थिए ।
बीमा समितिको निर्देशन अनुसार जीवन बीमा कम्पनीहरूले न्युनतम चुक्ता पूँजी ५ अर्ब रूपैयाँ पुर्याउनु पर्नेछ ।
हाल सूर्या लाइफको चुक्ता पूँजी २ अर्ब ४२ करोड रुपैयाँ र ज्योति लाइफको २ अर्ब २० करोड रुपैयाँ रहेको छ । एक बराबर एककाे अनुपातमा मर्जर भए मर्जर पश्चत बन्ने कम्पनीकाे चुक्ता पूँजी ४ अर्ब ६२ कराेड रूपैयाँ पुग्नेछ ।
मर्जर गर्ने सम्बन्धमा सैद्धान्तिक सहमतिको लागि सम्झौतापत्र सहित बीमा समितिमा निवेदन दिने र बीमा समितिबाट सहमतिपत्र प्राप्त हुना साथ डिडिए लगायत मर्जर सम्बन्धी अन्य कार्यहरु द्रुर्त गतिमा अगाडि बढाइने जनाएको छ ।
Comments