सन्तानकाे मानसिक स्वास्थ्य ठिक राख्न अविभावकले जान्नुपर्ने कुराहरु
आजकालका बच्चाहरु निकै संवेदनशिल हुने गर्छन्। सोसल मिडिया, इन्टरनेट आदिले गर्दा बच्चाहरुलाई धेरै नकारात्मक असरहरु परेको हुन्छ जसले गर्दा उनीहरुलाई सम्हाल्न निकै हम्मे-हम्मे पर्छ ।
सन्तानको स्वास्थ्य राम्रो होस् भन्ने कामना नगर्ने को होलान् र? आफू केही गुमाएर भए पनि अभिभावकले सन्तानको पालनपोषण, शिक्षा र संस्कारका लागि लगानी गर्छन्। यद्यपि सोचेजस्तो परिणाम नआउन सक्छ। सोचेअनुरुप सन्तानबाट परिणाम नआउनुमा उनीहरुको मानसिक स्वास्थ्यको ठूलो भूमिका हुन्छ। त्यसैले यसमा पनि अभिभावकले विशेष ध्यान दिनु आवश्यक हुन्छ।
मानसिक स्वास्थ्य संवेदनशील विषय हो। मानसिक रूपमा अस्वस्थ व्यक्तिले कसैलाई पनि विवेकपूर्ण ढंगले सहयोग गर्न सक्दैन। त्यसैले पहिले त अभिभावक नै मानसिक रूपमा स्वस्थ हुन आवश्यक छ। अनि मात्र आफ्नो सन्तानको राम्रोसँग ख्याल राख्न सकिन्छ।
विश्वासयुक्त सम्बन्ध
हरेक अभिभावकको चाहना आफूलाई छोराछोरीले विश्वास गरुन् भन्ने हुन्छ। समस्याहरु पनि अरुभन्दा आफूसँग सेयर गरुन् भन्ने अपेक्षा हुन्छ। तर अभिभावकले भने सन्तानसँगको व्यवहारबारे त्यति ध्यान दिँदैनन्। फलस्वरूप अभिभावकले सोचेअनुरुपको व्यवहार पाउन सक्दैनन्। सन्तानलाई अभिभावकले विभिन्न समयमा वाचा गरेका हुन्छन्। क्षणिक रूपमा खुशी पार्न घुमाउन लैजाने, केही सामग्री किनिदिने लगायत आश्वासन दिन्छन्। आश्वासन पूरा नगर्दा सन्तान र अभिभावकबीच दूरी बढ्दै जान्छ। यसले गर्दा सन्तान कुनै पनि समस्या आफ्ना अभिभावकसँग सेयर गर्न चाहँदैनन्। त्यसैले अभिभावकले सन्तानको मन जित्न उनीहरूलार्इ साथीजस्तो व्यवहार गर्नुपर्छ।
सामना गर्ने कलाको विकास
भनिन्छ, तनाव जीवन भोगाइका क्रममा आइपर्ने एउटा पाटो हो। त्यसैले त सबैको जीवनमा तनाव भन्ने तत्त्व रहेको हुन्छ। विशेषगरी बालबालिकाको उमेर बढ्दै जाँदा उनीहरूमा पनि शारीरिक, मानसिक तथा भावनात्मक रूपमा परिवर्तन आउँदै जान्छ जसले तनावको सम्भावनालाई पनि बढाउँदै लैजान्छ। त्यसैले बालबालिकामा आइपर्ने पीडादायी घटनाबाट उनीहरुलार्ई बचाउनु पर्छ। जसले बालबालिकाको मानसिक स्वास्थ्यका सकारात्मक परिवर्तन ल्याउन ठूलो भूमिका खेल्छ। पीडादायी घटनालाई कसरी सामना गर्ने ? कसरी तनावमुक्त हुने वा यसको समाधान कसरी गर्ने भन्ने विषयमा बालबालिकालाई सानै उमेरदेखि प्रशिक्षण दिनुपर्छ।
कहिलेकाहीँ उनीहरुलाई लेख, रचनालेख्न, पढ्न प्रोत्साहन गर्ने, साथीहरुसँग फोन गर्न र बोल्न लगाउने, स–साना बच्चालाई पनि अभिनय गर्न सिकाउने, रुचि भए चित्र कोर्न या अन्य सिर्जजनशील काममा लगाउने जस्ता गतिविधि गर्नु पर्छ। यसबाट उनीहरुको तनाव कम हुन्छ।
व्यक्तित्व विकासमा भूमिका
बालबालिकाको आत्मविश्वास बढाउन प्रेरित गर्न आवश्यक हुन्छ। यसले बालबालिकाको मानसिक स्वास्थ्य मजबुत गर्न सहयोग पुर्याउँछ। बालबालिकालाई सही र वास्तविक प्रशंसा एवं उत्प्रेरणा दिने, आत्मनिर्भर हुने मौका प्रदान गर्ने, नयाँ नयाँ सिप सिकाउने, सकारात्मक व्यवहारका लागि अभिप्रेरित गर्नेजस्ता गतिविधिमा ध्यान दिनुपर्छ। असल ढंगबाट ‘रोल मोडल’ बन्न उनीहरूलाई प्रेरणा दिनुपर्छ। यसका कारण बालबालिकामा नयाँ नयाँ क्षमता र व्यक्तित्व विकास हुन्छ।
Comments