Title of the document
Demo

बद्री बिक्रम

कुनैबेला हाम्रो देश नेपाललाई कृषि प्रधान देश भनेर चिनिन्थ्यो । कृषिलाई देशको मेरुदण्डका रुपमा लिईन्थ्यो । कुनै समय देशको अर्थतन्त्रमा ६० प्रतिशत भन्दा बढी योगदान कृषि क्षेत्रको थियो । तर समयसँगै कृषि क्षेत्रलाई माथि नउकासी बेवास्ता गर्नाले देशमा कृषि क्षेत्र ओझेल मात्र नभई लोप हुदै गहिरहेको छ ।

नेपालमा बर्षेनी ६०३,७२५ टन भन्दा बढी धान आयात हुन्छ भने कुल कृषिजन्य बस्तुमध्ये २१ प्रतिशत भन्दा बढी बाहिरबाट आयात हुन्छ । कुनै समय धान निर्यात गर्ने नेपाल यतिबेला छिमेकी राष्ट्रहरुमा निर्भर पर्नुपर्ने अवस्था आएको छ । यसको प्रमुख कारण कृषि क्षेत्रलाई ओझेल पार्नु नै हो । बढ्दो सहरीकरणले खेती योग्य जमीनहरु घडेरीमा परिणत हुन थाले, देशका जनशक्तिहरु बिदेश पलायन हुन थाले । बाँकी रहेका पनि बिस्तारै कृषि ब्यवसायबाट बिस्थापित हुने अवस्था छ ।

यहाँ बर्षभरी मेहनत किसानले गर्छन् । दिन रात एक गरेर पसिना किसानले चुहाउँछन् तर विडम्बना के छ भने बिचौलियाहरुको एकाधिकृत बजारले बर्षेनी कृषकहरु शेषित हुन बाध्य छन् । उदाहरणका रुपमा धनकुटाको जोरपाटीमा फलेको बन्दा गोभीलाई किसानहरु ५ रुपैयाँ किलोमा बेच्न बाध्य छन् भने दमकको बजारमा त्यहीँ बन्दा १०० रुपैयाँ किलोभन्दा बढीमा उपभोक्ताहरुले खरिद गरिरहेको प्रसङ्गलाई लिन सकिन्छ ।

आफ्नो परिश्रमको उचित प्रतिफल पाउँन नसक्दा किसान शोषित मात्र भएका छैनन् कृषि ब्यवसाय नै धराप हुने अवस्था आईसकेको छ । दिनरात एक गरेर मेहनत किसानले गर्छन् त्यहीँ मेहनतमा पैसा बिचौलियाले कमाउँछन् । यति मात्र नभई कृषिजन्य बस्तुको खरिद मूल्य पनि बिचौलियाले नै तोक्छन् । अनि सरकार मूकदर्शक भएर बेखवर बन्छ । साच्चिकै किसानका कुरा सुन्ने निकाय नै छैन । चुनाबका बेलामा भोट बटुल्न बेलाबखत किसानका अधिकारका कुराहरु उठ्छन् तर चुनाब सकेपछि ति आश्वासन र प्रतिज्ञाहरु कता हराउँछन् त्यो जितेर जानेलाई नै थाहा होला ।

अत्याधिक बर्षा र बाढीले यतिबेला तराईका अधिकांस धान तथा अन्य अन्नबालीमा क्षति पुर्‍याएको छ । नेपालमा मात्र नभई भारत, चीन लगायतका ठूला उत्पादक देशहरुमा पनि प्राकृतिक प्रकोपले अन्नबालीमा ठूलो क्षति पुर्‍याएको छ । यतिबेला बर्षा र बाढीले धानबाली र अन्य बालिमा क्षति पर्‍याउदा किसानहरुमा नैरास्यता छाएको छ । त्यसैले यसतर्फ सरकारले बेलैमा ध्यान पर्‍याउन नसके भविष्यमा खाद्य संकट नआउँला भन्न सकिन्न ।

Share.

Leave A Reply