रवि लामिछानेलाई ६० लाख धराैटीमा रिहा गर्न काठमाण्डाै जिल्ला अदालतकाे आदेश
काठमाण्डौ जिल्ला अदालतले पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
थुनछेक बहस सकिएपछि न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई ६० लाख रुपैयाँ धरौटी बुझाउन आदेश दिएको हो । बहस सकिएपछि अदालत परिसरबाहिर सहकारी पीडितका एक वकिल दिनेश त्रिपाठीमाथि हातपात भएको भिडियो सार्वजनिक भएको भियो ।
यसअघि कास्की जिल्ला अदालतले ६५ लाख रुपैयाँ धरौटी लिएर पुर्पक्षका लागि तारिखमा राख्न आदेश दिएपछि पुस २५ गते हिरासतमुक्त भएका लामिछाने २८ गते काठमाण्डौ जिल्ला अदालतमा उपस्थित भएका थिए ।
कास्कीमा लामिछानेविरुद्ध पोखरामा रहेको सूर्यदर्शन सहकारी संस्थाको बचत रकम दुरुपयोगसहित सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा अहिले पनि विचाराधीन छ । काठमाण्डौमा लामिछानेविरुद्ध स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत अपचलन र सङ्गठित अपराधसम्बन्धी मुद्दा परेको छ । लामिछानेविरुद्ध सहकारी सदस्यहरूकाे एक अर्ब १९ करोड ९५ लाख रुपैयाँ बचत रकम अपचलन गरेको आरोप छ ।
लामिछानेमाथि कास्की र काठमाण्डौबाहेक रुपन्देही, चितवन र पर्सामा पनि सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी अनुसन्धान चलिरहेको छ । ती जिल्लाहरूमा पनि लामिछानेविरुद्ध चाँडै अभियोगपत्रहरू दर्ता हुने सम्बन्धित जिल्लाका सरकारी वकिल कार्यालयहरूले जनाएका छन् ।
एजेन्सी
Comments