अफ्रिकी देश चाडका राष्ट्रपतिको निवासमा बन्दुकधारीको हमला, १९ जनाकाे ज्यान गयाे
अफ्रिकी देश चाडका राष्ट्रपति महामत इदरीस डेबी इटनाको निवासमा बन्दुकधारीले हमला गरेका छन् । हमलाका क्रममा सुरक्षाकर्मी र आक्रमणकारीबीच भीडन्त हुँदा १९ जनाको ज्यान गएको छ ।
ज्यान गुमाउनेमा १८ जना २४–कमान्डो युनिटका आक्रमणकारी र एक जना सरकारी सुरक्षाकर्मी रहेका समाचार संस्था एएफपीले जनाएको छ । ६ जना घाइते भएका छन् ।
आक्रमणबाट राष्ट्रपति र राष्ट्रपति भवन सुरक्षित रहेको सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री अब्देरमान कुलामल्लाहले बताएका छन् । गोलीबारीको केही घण्टाअघि चिनियाँ विदेशमन्त्री वाङ यीले राष्ट्रपति महामत इदरीस डेबी इटनो र अन्य वरिष्ठ अधिकारीहरूसँग भेट गरेका थिए । आक्रमणकारीले राष्ट्रपति परिसरमा प्रवेश गर्नुअघि प्रहरीमाथि आक्रमण गरेका थिए ।
भूपरिवेष्ठित चाडमा सैन्य शासन छ । जहाँ बोको हरामले नियमित आक्रमण गरिरहन्छ । भर्खरैमात्र चाडले पूर्व औपनिवेशिक शक्ति फ्रान्ससँगको सैन्य सम्झौता अन्त्य गरेको छ ।
एजेन्सी
Comments