अमेरिकामा घरबारविहीनहरुको सङ्ख्या १८ प्रतिशतले बढ्यो

अमेरिकामा घरबारविहीनहरुको सङ्ख्या १८ प्रतिशत भन्दा धेरैले बढेको छ । सन् २०२३ को तुलनामा २०२४ मा घरबारविहीनको सङ्ख्या १८ दशमलव एक प्रतिशतले बढेर सात लाख ७१ हजार चार सय ८० जना पुगेको समाचारसंस्था एपीले जनाएको छ ।

अमेरिकी आवास तथा शहरी विभागले सार्वजनिक गरेको नयाँ प्रतिवेदनअनुसार घरबारविहीनहरु हुनेहरुमध्ये ८० हजार भन्दा धेरै बालबालिका भएका परिवार छन् ।

अमेरिकाको सङ्घीय सरकारले २० वर्षदेखि घरबारविहीनहरुको तथ्याङ्क राख्न थालेको हो । यस पटक भएको वृद्धी त्यसयताकै उच्च भएको प्रतिवेदनमा उल्लेख छ।

घरबारविहीनहरुको सङ्ख्या बढ्नुमा आप्रवासीहरूको आगमन मुख्य कारण रहेको छ । सीमामा कमजोर सुरक्षाको कारण आपवासीहरूको प्रवेश बढेको र यसरी आएका आप्रवासी बेरोजगार बन्ने र घरबारविहीन हुने क्रम बढ्ने गरेको छ ।

यसबाहेक दुर्व्यसनीका कारण पनि अमेरिकीहरूले आफ्नो आश्रयस्थल गुमाउँदा घरबारविहीनहरु बन्ने गरेका प्रतिवेदनमा उल्लेख छ ।

शरणको दाबीमाथि कडा कदम चालेपछि गएको जुनदेखि घरबारविहीनहरुको सङ्कट कम भएको प्रतिवेदनमा उल्लेख छ ।

घरबारविहीनहरु हुनुमा प्राकृतिक प्रकोप पनि एउटा कारण रहेको देखिएको प्रतिवेदनलाई उल्लेख गर्दै समाचार संस्था एपीले जनाएको छ । 

एजेन्सी

Comments

Back to top