जाकिर हुसैन – जसले तबलालाई मुख्य वाद्ययन्त्रका रुपमा विश्वमै स्थापित गरे
विश्वप्रसिद्ध तबलावादक तथा पद्मविभूषण उस्ताद जाकिर हुसैन भन्थे- ”तबला बिनाको जीवन कल्पना गर्न पनि असम्भव छ”
२०औं शताब्दीका चर्चित तालवादक उस्ताद अल्लारखा कुरैशीले आफ्नो छोरालाई काखमा समातेर कानमा कविता सुनाएनन् तर, तबलाका गीत सुनाउँथे ।
परिवारका अन्य सदस्यले कारण सोध्दा उनी भन्थे, ‘तबलाका यी बजाइ मेरो आयत हो ।’ त्यो बालक जाकिर थिए, जसले सारा संसारलाई तबलाको तालमा नाच्ने मौका दिए ।
जाकिर, जसले सङ्गीतको विरासतलाई आफ्नो नसामा राखे, देशका ती कलाकारमध्ये एक थिए, जसले भारतीय शास्त्रीय सङ्गीतलाई विश्व स्तरमा मात्र पुर्याएनन्, तबलालाई मुख्य वाद्ययन्त्रका रुपमा विश्वमा पनि एक प्रमुख स्थान दिलाए ।
जाकिरको जन्म ९ मार्च १९५१ मा महाराष्ट्रमा उस्ताद अल्लारखा र बावी बेगमको घरमा भएको थियो । उनको बाल्यकाल आफ्नो बुवाको तबलाको ताल सुनेर बित्यो र ३ वर्षको उमेरमा जाकिरलाई तबला पनि दिइएको थियो, जुन उनले कहिल्यै छोडेनन् ।
जाकिरले आफ्ना बुवा र प्रथम गुरु उस्ताद अल्लारखाबाहेक उस्ताद लतिफ अहमद खान र उस्ताद विलायत हुसैन खानबाट तबला तालिम लिएका थिए । जाकिरले १२ वर्षको उमेरमा भारतमा आफ्नो पहिलो व्यावसायिक शो गरेका थिए, जसको लागि उनले १०० रुपैयाँ पाएका थिए ।
समकालीन विश्व सङ्गीत अर्थात् पश्चिम र पूर्वको सङ्गीतलाई एकसाथ ल्याउने सफल प्रयोगका कारण उनले शास्त्रीय सङ्गीतमा विज्ञता मात्र नभई कयौं चलचित्रमा अभिनय पनि गरेका थिए । मिकी हार्ट, जोन म्याकलाफलिन जस्ता कलाकारसँग फ्यूजन सङ्गीत सिर्जना गर्दा उनले आफ्नै ब्यान्ड ‘शक्ति’ पनि सुरु गरे ।
फ्युजन म्युजिक बनाएपछि पनि उनले तबला छोडेनन् किनभने उनी र तबला बाल्यकालदेखि नै साथी र दाजुझैँ साथमा रहे ।
जाकिर हुसेन त्यो दुर्लभ क्षमताको तालवादक थिए, जसले वरिष्ठ डागर ब्रदर्स, उस्ताद बडे गुलाम अली खान साहबदेखि बिरजु महाराज र निलाद्री कुमार, हरिहरनसम्मका ४ पुस्ताका कलाकारलाई साथ दिए ।
जाकिरको योगदान सिनेमा जगत्मा पनि महत्वपूर्ण छ । ‘बावर्ची’, ‘सत्यम शिवम् सुन्दरम्’, ‘हीर-राँझा’, ‘साज’ जस्ता चलचित्रको सङ्गीतमा उस्तादको ठूलो भूमिका थियो । सङ्गीत मात्र होइन, उनले लिटिल बुद्ध र साज जस्ता चलचित्रमा पनि अभिनय गरेका छन् ।
जाकिरलाई सबैभन्दा कम उमेरमा (३७ वर्ष) १९८८ मा पद्मश्री प्रदान गरिएको थियो । पद्मश्री पाएपछि गुरु तथा पिता उस्ताद अल्लारखाले उनलाई खुसीसाथ माला चढाए । शिष्यका लागि योभन्दा राम्रो र अविस्मरणीय क्षण के हुन सक्छ ? उही समयमा पण्डित रविशंकरले पहिलो पटक जाकिरलाई उस्ताद भनेर सम्बोधन गरे । त्यसपछि यो क्रम रोकिएन ।
जाकिरले मिलेर बनाएको एल्बम ‘प्ल्यानेट ड्रम’मा हिन्दुस्तानी र विदेशी लय मिसाएर रेकर्डिङ गरिएको थियो, जुन त्यतिबेला दुर्लभ थियो । त्यही कारण त्यो बेला करिब ८ लाख रेकर्ड बिक्री भएको थियो ।
उनले आफ्नो ‘ग्लोबल ड्रम प्रोजेक्ट’ एल्बमको लागि सन् २००२ मा पद्मभूषण, सन् २००६ मा कालिदास सम्मान र सन् २००९ मा ग्रामी पुरस्कार प्राप्त गरे । सन् २०२३ मा पद्मविभूषण र उनले ४ फेब्रुअरी २०२४ मा एकैसाथ ३ वटा ग्रामी अवार्ड जितेर इतिहास नै रचे।
सन् २०१० मा उस्ताद अल्लारखा सङ्गीत संस्थानको तर्फबाट उनलाई पञ्जाब घरानाको तबला बजाउने महान गुरुको उपाधि दिइएको थियो।
जाकिरको पारिवारिक उपनाम कुरेशी हो तर, एक फकिरको सल्लाहमा उनकी आमाले उनको नाम जाकिर हुसैन राखेकी थिइन् । उनी व्हाइट हाउसमा अल स्टार ग्लोबल कन्सर्टको लागि आमन्त्रित हुने पहिलो भारतीय सङ्गीतकार थिए ।
एक अन्तर्वार्ताको क्रममा उनलाई मनपर्ने कलाकार को हो भनेर सोधियो र उनको जवाफ थियो- मेरो बुवा । यसका अलावा पण्डित शिवकुमार शर्मा, पण्डित बिरजु महाराज, पण्डित हरिप्रसाद चौरसिया, उस्ताद अमजद अली खान, हरिहरन, शंकर महादेवन जस्ता कलाकार पनि यो सूचीमा परेका थिए ।
एजेन्सी
Comments