सौर्य जहाज दुर्घटना: क्षतिपूर्तिको कुरा नमिल्दा अधिकांशको शव उठाएनन् परिवारले

सरकार र सौर्य एअरलाइन्सले क्षतिपूर्ति, बिमा लगायतका विषयमा टुंगो नलगाउँदा जहाज दुर्घटनामा मृत्यु भएकाका अधिकांश आफन्तहरुले शव बुझेका छैनन् । पाँच परिवारले मात्रै शव बुझेका छन् । सौर्य जहाज दुर्घटनामा मृत्यु भएकाहरुको पाँच शव त्रिवि शिक्षण अस्पताल परिवारले लगेका छन् ।

शव परीक्षण सकिएकाले शुक्रबारै आफन्तलाई बुझाउने भनिए पनि क्षतिपूर्तिको विषयमा अझै सहमति हुन नसकेको हो ।

उद्धव पुरी, अस्मिन निरौला, श्याम विन्दुकार, सुशान्त कटुवाल र राजाराम आचार्यको शव आफन्तले बुझेका महाराजगन्ज प्रहरी वृत्तका डीएसपी अमर थापाले बताए ।

शव बुझ्ने हतारोमा मृतकका आफन्तहरु शिक्षण अस्तापलमा जम्मा भएपनि कुरा नमिलेपछि अरुले लगेनन् ।
केही मृतकका परिवार तथा आफन्तले भने शव हेर्न भित्र बोलाएर जबर्जस्ती शव बुझेको कागजमा हस्ताक्षर गर्न गराउन लगाएको आरोप समेत लगाएका छन् ।

शुक्रबार अपराह्नसम्म अधिकांश शवको पहिचान भइसकेको छ भने बढी जलेका शवको पहिचानमा भने केही समस्या भएको चिकित्सकहरुले बताएका छन् ।

बुधबार बिहान ११ः११ बजे काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको थियो । घटनामा १८ जनाको मृत्यु भएको थियो । विमान चालक मनिषरत्न शाक्यको भने काठमाडौँ मेडिकल कलेजमा उपचार भइरहेको छ ।

एजेन्सी

Comments

Back to top