प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणसँगै विराटनगरसम्म कार्गो रेल आउँदै!

प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणसँगै भोलि बिहीबार विराटनगरसम्म कार्गो रेल आउन लागेको छ । २०७६ सालमै परीक्षण गरेर तयारी अवस्थामा रहेको विराटनगरको कस्टम यार्डसम्म भोलि रेल आउने भएको छ ।

रेलमार्ग निर्माण गर्ने क्रममा कटहरी गाउँपालिका १ मा लगभग ६ बिगाहा जग्गाको मुआब्जा विवादका कारण केही स्थानको काम भने रोकिएको छ । बथनाहादेखि विराटनगरको एकीकृत भन्सार जाँच चौकी (आईसीपी)सम्मको ७ दशमलव ६ किलोमिटर रेलमार्ग भने सञ्चालनका लागि योग्य छ ।

रेलको लिक परीक्षण सफल भएको चार वर्ष पुग्दा पनि भारतको बथनाहाबाट नेपालको कटहरीसम्म कार्गो रेल सञ्चालन हुन सकेको थिएन । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणअघि यस विषयमा भन्सार र भारतीय रेल्वेका अधिकारीले विराटनगरका उद्योगी व्यवसायीसँग छलफल गरेका छन् । छलफलमा नेपाली उद्योगीहरूले आफूहरु विगत लामो समयदेखि कार्गो रेल आउने प्रतिक्षामा पर्खिएको बताएका थिए ।

उद्योग संगठन मोरङका निवर्तमान अध्यक्ष सुयष प्याकुरेलले एक औपचारिक कार्यक्रमबीच कार्गोको स्वागतमा नेपाली उद्योगीरव्यवसायी बुधनगरस्थित कस्टम यार्ड पुग्ने बताए । कार्गो रेल सञ्चालनमा आउने हो भने तेस्रो मुलुकबाट आउने सबै र भारतबाट आउने ६० प्रतिशत मालवस्तु रेल्वेमार्फत आउने अनौपचारिक प्रक्षेपण रहेको उद्योग संगठन मोरङका कार्यकारी निर्देशक चुँडामणि भट्टराई बताउँछन् ।

-Aarthik Dainik

Comments

Back to top