बारामा प्रधानमन्त्री प्रचण्डको पुत्ला दहन, मन्त्री मोदीको राजीनामा माग

बाराको महागढीमाई नगरपालिकाका स्थानीयले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पुत्ला दहन गरेका छन् । प्रमुख प्रशासकीय अधिकृतका नभएका कारण चार महिनादेखि नगरपालिकाको कामकाज ठप्प हुँदा समेत सरकारले चासो नदेखाएको भन्दै स्थानीयले प्रधानमन्त्री प्रचण्डको पुत्ला दहन गरेका हुन् ।

सयौंको संख्यामा रहेका स्थानीयले प्रधानमन्त्री प्रचण्डको पुत्लामा आगो लगाउँदै नाराबाजी गर्न थालेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले आगो निभाएका थिए । प्रधानमन्त्रीको पुत्ला दहनसँगै स्थानीयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीको राजीनामा समेत माग गरेका छन् । प्रमुख प्रशासकीय अधिकृत पठाउन नसक्ने मन्त्रीले तत्काल राजीनामा दिनुपर्ने भन्दै स्थानीयले नाराबाजी गरेका थिए ।

प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगरपालिका कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मीसहित ६५८ जना कर्मचारीले चार महिनादेखि तलब पाएका छैनन् भने नगरपालिकाको योजनाको कामसमेत प्रभावित बनेको छ । प्रमुख प्रशासकीय अधिकृत नभएका कारण चालु आर्थिक वर्षमा पाँच प्रतिशत मात्रै योजनाको सम्झौता भएको छ ।

नगर प्रमुख यादवले प्रमुख प्रशासकीय अधिकृत चार महिना नहुँदा झण्डै एक अर्बको बजेट फ्रिज हुन लागेको बताउँदै आएका छन् । प्रमुख यादव प्रमुख प्रशासकीय अधिकृत माग गर्न यतिबेला काठमाडाैँमै छन् ।

Comments

Back to top