अमेरिकाविरुद्ध लड्न आठ लाख युवा सैन्य सेवामा भर्ती भएको उत्तर कोरियाको दाबी

उत्तर कोरियाको सरकारी अखबार रोडोङ सिनमुमले देशका आठ लाखभन्दा बढी युवा ‘अमेरिकी साम्राज्यवाद’विरुद्ध लड्न स्वेच्छिक रूपमा सैन्य सेवामा भर्ती भएको उल्लेख गरेको छ ।

दक्षिण कोरिया र अमेरिकाको भड्काउ संयुक्त सैन्य अभ्यासको जवाफमा उत्तर कोरियाका लाखौँ नागरिक सैन्य सेवामा स्वेच्छिक आबद्ध हुन आएको उत्तर कोरियाका सञ्चारमाध्यमले दाबी गरेका छन् ।

उत्तर कोरियाले आइतबार पनि छोटो दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेको छ । यो एक साताको अवधिमा प्योङयाङले गरेको चौथो क्षेप्यास्त्र प्रक्षेपण हो । दक्षिण कोरिया र अमेरिकाको जारी पाँच वर्षयताकै ठूलो संयुक्त सैन्य अभ्यासको विरोधमा प्योङयाङले शक्तिशाली क्षेप्यास्त्र प्रक्षेपण गरिरहेको ठानिएको छ ।

उत्तर कोरियाले यस्ता सबै अभ्यासलाई आफूमाथि आक्रमणको पूर्वाभ्यासका रूपमा हेर्ने र जवाफमा क्षेप्यास्त्र प्रक्षेपण र चेतावनीको भाषा प्रयोग गर्ने गर्छ । कोरियाली केन्द्रीय समाचार संस्था (केसिएनए)ले उत्तर कोरियाली अधिकारीलाई उद्धृत गर्दै जारी सैन्य अभ्यासलाई ‘आणविक युद्ध भड्काउने’ साम्राज्यवादी प्रयासका रूपमा व्याख्या गरेको छ ।

Comments

Back to top