नेपाली बिजुलीलाई भारतले प्रतियुनिट ११.५४ रुपैयाँ दिने!

भारतले नेपाली बिजुली किन्दा प्रतियुनिट दर ७.२१ भारु (११ रुपैयाँ ५४ पैसा) दिने सहमति भएको छ। दिल्लीमा शुक्रबार सम्पन्न नेपाल-भारत पावर एक्सचेन्ज कमिटीले आर्थिक वर्ष सन् २०२२/२३ का लागि १३२ केभी प्रसारण लाइनमार्फत हुने विद्युत आदानप्रदानको दर तय गरेको हो। 

बेच्दा नेपालले पाउने मूल्य नै आफूले किन्दा पनि तिर्नु पर्नेछ। नेपाल–भारतबीचको विद्युत आदान प्रदान समिति (पावर एक्सचेन्ज कमिटी) बैठकले नेपालले बिहार राज्यका प्रसारण ग्रीडमार्फत अन्य राज्यमा विद्युत् निर्यातका लागि  मोडालिटी तय गर्ने निर्णय गरेको छ।

समितिको १४ औं बैठकले बिहारका ग्रीड हुँदै भारतको केन्द्रीय प्रसारण ग्रीडमार्फत अन्य राज्यहरुमा नेपालले गर्ने विद्युत् निर्यातको मोडालिटी एक महिनाभित्रमा तय गर्ने निर्णय गरेको हो।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र भारतको केन्द्रीय विद्युत प्राधिकरणका विद्युत प्रणाली सदस्य अशोककुमार राजपुतको सहअध्यक्षमा बैठक बसेको थियो।

‘नेपालले बिहारसँग प्रसारण लाइन जोडिएका विन्दुबाट भारतको केन्द्रीय ग्रिडसँग जोडिएर विद्युत् निर्यात हुने छ। यसका लागि एक महिनाभित्र दुवै पक्षले मोडालिटी टुंगो लगाउने छन्। यसबाट वर्षायाममा देशभित्र खपत गरी बढी भएको विद्युत् बिक्रीका लागि थप बजार सुनिश्चित भएको छ,’ कार्यकारी निर्देशक घिसिङले भने।

बिहारसँग कटैया-कुशाहा र रक्सौल–परवानीपुर १३२ केभी प्रसारण लाइन जोडिएका छन्। गत फागुनको महिलो हप्तामा सम्पन्न नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको दशौं बैठकले कटैया–कुशाहा र रक्सौल–परवानीपुर १३२ केभी प्रसारण लाइनको दोस्रो सर्किट क्रमशः चालु महिना मार्चभित्र र अप्रिल-मेसम्ममा निर्माण सम्पन्न गर्ने निर्णय भएको थियो।

विद्युत आदानप्रदान समितिको बैठकले आदान प्रदान सम्झौताअन्तर्गत आयातनिर्यात हुने विद्युतको प्रति युनिट दर ७.२१ भारतीय रुपैयाँ (११ रुपैयाँ ५४ पैसा) तय गरेको छ। विद्युत आदानप्रदान सम्झौता बमोजिम नेपाल विद्युत प्राधिकरणले भारतको बिहार, उत्तर प्रदेश र उत्तराखण्डबाट आवश्यक परेका बेलामा विद्युत आयात गर्दै आएको छ। प्राधिकरणले अन्य दुई राज्यको तुलनामा आवश्यक परेको बेला सबैभन्दा बढी बिहारबाट विद्युत आयात गर्छ। नेपालसँग बिहार र उत्तर प्रदेश मात्र १३२ केभी प्रसारण लाइनमा जोडिएका छन्। 

प्राधिकरणले आवश्यक परेको बेला भारतबाट व्यापारिक रुपमा इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत,  विद्युत आदानप्रदान सम्झौता (पावर एक्सचेन्ज) र महाकाली सन्धि अन्तर्गतको बिजुली भारतबाट आयात गर्छ। व्यापारिकरुपमा ढल्केबर–मुजफ्फरपुर क्रसबोर्डर ४०० केभी डबल सर्किट प्रसारण लाइनमार्फत र अन्य स्थानबाट पावर एक्सेन्जअन्तर्गत भारतबाट बिजुली ल्याइरहेको छ ।

प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत चालु आर्थिक वर्षमा भारतीय बजारमा बिक्री गरी ८ अर्ब ४४ करोड रुपैयाँ आर्जन गरेको छ।

Comments

Back to top