रोचक: कारभन्दा महँगो भेडा !

किङ अफ सिप’ समेत भनिने सेनेगलको द लाडौम सिप अफ्रिकी देशको प्रतिष्ठा बनेको छ । यो भेडाको उन्नत प्रजातिको मूल्य ८५,००० डलर (१ करोड रुपैयाँ) भन्दा बढी पर्छ । 

मौरिटानियन ‘तोउबिरे’ नस्ल र मालियन ‘बाली(बाली’ को एक हाइब्रिड, लाडौम पहिलो पटक सन् १९७० को सुरुमा सेनेगलको राजधानी डकार बाहिर प्रजनन गरिएको थियो । पश्चिमी अफ्रिकी देशभरी लाडौम नस्ल अत्यधिक चर्चित छ । यो नस्लको विकासका लागि आर्थिक रुपमा सम्पन्न परिवार र प्रजननकर्ताले यसमा पैसा खर्च गर्छन् र जसले यसमा खर्च गर्न सकिरहेका हुँदैनन्, उनीहरुले कुनै दिन यस्तो गर्ने सपना देखिरहेका हुन्छन् ।

जुन देशको ४० प्रतिशत जनसंख्याले प्रतिदिन १.९० डलरमा जीवनयापन गरिरहेका छन्, केही व्यक्तिले एउटा भेडामा हज्जारौँ डलर खर्च गरिरहेका छन् । यही कुराले नै लाडौम कति चर्चित छ भनेर थाहा पाउन सकिन्छ ।

लाडौम भेडाको विशेषता पनि निकै फरक छ । यी निकै ठूला नस्ल हुन् । यसको उचाई १.२ मिटर हुन्छ र यिनीहरु १७५ केजीसम्मका हुन्छन् । ऊन पनि निकै नरम हुन्छन्, घुम्रिएको सिङ हुन्छन् र यसको मासु असाध्यै मिठो हुने पनि बताइन्छ । सेनेगलका धेरैजसो जनताले यो भेडालाई निकै सुन्दर ठान्छन् त्यसैले त टिभीमा यिनीहरुको सुन्दरी प्रतियोगितासमेत आयोजना गर्ने गरिन्छ ।

हुन त लाडौम आधा शताब्दिभन्दा अघिदेखि थिए तर प्रजननकर्ताले पछिल्लो २० वर्षदेखि मात्रै यिनीहरुको उत्पादन सुरु गरे । उनीहरुको मिहिनेतले रङ ल्यायो, अहिले लाडौम एउटा भेडा मात्रै होइन, यो स्टेटस सिम्बोल बनेको छ । धेरैले यसलाई घर, गाडी, महँगा जुत्ता, लुगाभन्दा बढी महत्व दिने गर्छन् ।

एनबीएका बास्केटबल खेलाडी गोगुई देङ्गसँग थुप्रै लाडौम छ भनिन्छ । सेनेगलका रेसलर येकिनीसँग पनि धेरै नै लाडौम छ भन्ने गरिन्छ । अर्कोतर्फ, सेनेगलका गरिबले यस्तो भेडा राख्ने सपना चाहिँ देख्ने गर्छन् ।

 

 

Comments

Back to top