लाल्टिन हट टेक : शिवम् सिमेन्ट- बटम कहिले लाग्ला ?

शिवम् सिमेन्ट नेप्सेमा सुचिकृत भएको एक मात्र सिमेन्ट कम्पनि हो। रु.४.४ अर्ब चुक्ता पूंजी रहेको यस कम्पनीको आर्थिक वर्ष २०७९/८० को दोश्रो त्रैमासको वित्तिय विवरण अनुसार जगेडा तथा कोष ३.१५% ले बढेर रु.४.७० अर्ब कायम हुन आएको छ जसले गर्दा कुल शेयरधनीकोष पनि पनि सामान्य बढेर रु.९.१० अर्ब कायम हुन आएको छ। शेयरधनी कोष बढे सँगै प्रति शेयर किताबी मुल्य पनि रु. २०३.५९ बाट बढेर रु.२०६.८५ कायम हुन आएको छ। बजारमा सिमेन्ट कम्पनिहरु बीचको तिब्र प्रतिस्पर्धा र देशको अर्थतन्त्रमा देखिएको संकुचनले गर्दा यस कम्पनिको व्यापार निरन्तर रुपमा घटेको कोभिड पश्चातको वित्तिय विवरणहरुले देखाउछ।  यसकै प्रतिफल स्वरुप नेप्सेमा शिवम् सिमेन्टमा ७७ प्रतिशतको गिरावट भइसकेको छ।  १९ अगस्ट २०२१को दिन रु१९१०को सेयर मुल्य पुगेको यस कम्पनि अहिले प्रति कित्ता ४४०मा मात्र कारोबार भइरहेको छ।  


शिवम् सिमेन्टको लकिङ पिरियड ६ मार्च २०२२  गते सकिएको थियो र सम्पूर्ण सेयर साधारण सेयरमा परिणत भई बजारमा कारोबार गर्न सकिने भएको थियो।  नेप्सेमा कुल ४ करोड ४४ लाख कित्ता शेयर सूचीकृत छन्, जसमध्ये ३ करोड ८७ लाख कित्ता प्रवर्द्धक र ८ लाख ८० हजार कित्ता प्रभावित क्षेत्रका स्थानीयलाई जारी गरिएको थियो । बाँकी ४४ लाख कित्ता साधारण सेयर थिए । यसअघि साधारण सेयरधनीलाई जारी गरिएको सेयर मात्र दोस्रो बजारमा कारोवार हुने गरेको थियो भने  ६ मार्च २०२२ देखि सबै शेयरधनीले ४ करोड ४४ लाख कित्ता शेयर कारोबार गर्न सक्ने भएको थियो। यसले बजारमा ठुलो सप्लाई दियो र सेयरको मूल्य  घट्नलाई टेवा पूरायो।  यद्यपि कम्पनिको वित्तिय अवस्था राम्रै रहेको भए प्रवर्द्धकहरुको सेयर साधारण सेयरमा परिणत भए पनि बजारमा यति धेरै सप्लाई आउने थिएन।  


टेक्निकल्ली यस स्टकलाई हेर्ने हो भने यस कम्पनिले बटम लगाएको होकी भनेर अनुमान लगाउन सकिने धेरै आधारहरु बनेका छन्।  स्टोक्यस्टिक आर एस आइ ०.२९ मा देखिएको छ जसले यस स्टक ओभर सोल्ड जोनमा रहेको जनाउछ।  एमएसीडीका नेगेटिभ हिस्टोग्रमहरु क्रमश घटिरहेको देखिन्छ जसले बजारमा बिक्रि चाप घटिरहेको जनाउछ।  मुमेण्ट्म इन्डिकेटर आर एस आई अहिले ३२को लेभलमा आएको छ यस इन्डिकेटर ३०भन्दा मुनि आए यसले पनि स्टक ओभर सोल्ड भएको देखाउने छ। 
इलिवोट वेभ अनुसार हाल यस स्टकमा पाँचौ वेभ चलिरहेको अनुमान लगाउन सकिन्छ र बजारको गीरावट छिटै अन्त्य भइ सर्ट टर्म बुलिश (करेक्टिभ वेभ) सुरु हुने देखिन्छ।  सर्ट टर्म बुलिश भएको खण्डमा पनि यस सेयरको मूल्य डबल हुन सकिने सम्भावना रहेको छ।  हाल चलिरहेको करेक्सन निकै स्टिप भएको हुनाले छिटै रिभर्सल आउन सक्ने अनुमान लगाउन सकिन्छ। यस स्टकको टेक्निकल चार्ट अनुसार ४२५-३९०को एरिया राम्रो डिमाण्ड जोन रहेकाले यस स्टकले यहि एरियामा सपोर्ट बनाएर रिभर्सल दिनसक्ने देखिन्छ।

Comments

Back to top