सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्सको सेयर कारोबार रोक्का

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा फागुन २९ गतेदेखि सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्सको सेयर कारोबार रोक्का हुने भएको छ । यी इन्स्योरेन्सहरूको सेयर काराेबार १५ दिनका लागि रोक्का हुने भएको हो।

मर्जरपश्चात गाभ्ने गाभिने कम्पनीको सेयर मिलान, धितोपत्रको पुनः दर्ता धितोपत्रको अभौतिकिकरण तथा सूचीकरण प्रयोजनका लागि एकिकृत कारोबार भएको मितिबाट १५ दिनका लागि दुई कम्पनीकाे सेयर कारोबार रोक्का गरिन लागेको हो।

साविक सगरमाथा इन्स्योरेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी एक आपसमा गाभिएपश्चात सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको नामबाट फागुन २९ गतेदेखि एकिकृत कारोबार हुँदैछ ।

दुवै कम्पनीबीचमा भएको प्रारम्भिक सहमतिको आधारमा सगरमाथा इन्स्योरेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्सको सेयर आदान प्रदान अनुपात (स्वाप रेसियो) क्रमश १००:८० कायम रहनेछ ।

साथै, दुवै कम्पनीको आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरणअनुसार प्रस्तावित बोनस सेयर वितरण पश्चात स्वाप रेसियो गणना गरी मर्जर पश्चात कायम हुने कम्पनीको चुक्ता पुँजी २ अर्ब ६२ करोड रुपैयाँ नाघ्ने कम्पनीले जनाएको छ ।

Comments

Back to top