गर्भको बच्चालाई पति-पत्नीबीचको झगडाले पार्छ यस्तो असर!

श्रीमान-श्रीमतीबीच सानोतिनो झगडा हुन्छ । तर तपाईं आमाबुबा बन्न लाग्नुभएको छ भने यसले गर्भमा रहेको बच्चाको स्वास्थ्यमा नराम्रो असर पार्न सक्छ । डाक्टरहरूले गर्भवती महिलालाई जुनसुकै अवस्थामा पनि खुसी राख्नुपर्ने सल्लाह दिन्छन्।

यदि गर्भवती महिला कुनै तनावमा रहन्छिन् भने यसले मुटुको धड्कन बढाउँछ । रक्तचाप बढ्छ र गर्भमा रहेको बच्चामा अक्सिजन आपूर्ति प्रभावित हुन सक्छ । यसकारण अप्रत्यक्ष रुपमा श्रीमान-श्रीमतीबीचको झगडाले गर्भमा रहेको बच्चालाई पनि असर पार्ने चिकित्सकहरु बताउँछन् ।

बच्चाको मानसिक विकासमा बाधा आउन सक्छ

गर्भावस्थामा अत्यधिक रुनु वा रिसाउनु शिशुको स्वास्थ्यका लागि राम्रो होइन । यसले गर्भमा रहेको बच्चाको मानसिक विकासमा बाधा पुर्‍याउन सक्छ । बच्चाको सोच्ने क्षमतालाई असर पार्छ र तनावका कारण बच्चा जन्मेपछि चिन्ताको शिकार हुन सक्छ ।

भ्रूणका लागि खतरा

झगडाका क्रममा यदि शारीरिक यातनासम्मको घटना भयो भने चोटपटकका कारण गर्भमा रहेको शिशुको ज्यान समेत जान सक्छ । रक्तस्रावलाई गर्भपातको लक्षण मानिन्छ । श्रीमान-श्रीमतीबीच झगडा हुनु सामान्य कुरा हो, तर यसले तपाईंको गर्भमा रहेको बच्चाको स्वास्थ्य बिगार्छ र स्वास्थ्यको कुरा गर्दा आमा र बच्चाको स्वास्थ्यसँग खेलवाड गर्न सकिंदैन ।

बच्चाको रोग प्रतिरोधात्मक क्षमता कम हुनसक्छ

यदि गर्भावस्थामा दम्पतीबीच झगडा भए बच्चाको रोग प्रतिरोधात्मक क्षमतामा दबाब पर्न सक्छ र भविष्यमा बच्चा रोगको शिकार हुन सक्छ । आमाको बढ्दो तनावले बच्चामा पनि नराम्रो असर गर्छ ।

भ्रूणमा अक्सिजनको मात्रा कम हुनसक्छ

गर्भावस्थाको समयमा झगडाका कारण तनाव बढ्दा गर्भवती महिलाको मुटुको गति बढ्न सक्छ, जसले उच्च रक्तचापको समस्या हुनसक्छ । यसले गर्दा पाठेघरमा अक्सिजन कम हुने र बच्चालाई रगतको आपूर्ति नहुन सक्छ ।

गर्भावस्थामा दम्पतीबीचको झगडाबाट कसरी बच्ने ?

गर्भावस्थामा एकातर्फ शरीरमा आउने परिवर्तनसँग समायोजन गर्नुपर्ने हुन्छ भने अर्कोतर्फ मानसिक तनावसँग जुध्न पनि गाह्रो हुन्छ । गर्भावस्थामा हर्मोनमा परिवर्तन हुने र भावनामा हुने परिवर्तनले शरीरमा नराम्रो असर गर्छ। दम्पतीले केही सजिलो तरीका अपनाउनुपर्छ, जसको मद्दतले गर्भावस्थामा मानसिक तनावबाट बच्न सकिन्छ।

-पार्टनरसँग गर्भमा रहेको बच्चाको गतिविधिबारे छलफल गर्नुहोस् र उनीहरूको विचार जान्नुहोस्। साथै, पेटमा रहेको  बच्चाको लागि योजना बनाउन पनि सकिन्छ।

-एकअर्काको लागि समय निकाल्नुहोस्, यदि दम्पती दुवै जना काम गर्दै हुनुहुन्छ भने तपाईंले दिनमा केही समय सँगै बिताउनुपर्छ।

-सँगै घुम्न जानुहोस् । साथै, ध्यान, योग र व्यायामलाई समय दिनुहोस् ताकि दिमाग शान्त रहोस् र झगडा नहोस्।

-सँगै डाक्टरकहाँ जानुहोस्, यसबाट दुवैले शारीरिक परिवर्तनहरु बुझ्न सक्छन्।

-गर्भावस्था हरेक जोडीको लागि विशेष अवसर हो । यस समयमा दुवैले बच्चालाई खुसी र उत्साहका साथ स्वागत गर्ने तयारी गर्नुपर्छ र आपसी मनमुटावलाई बेवास्ता गर्नुपर्छ।

Comments

Back to top