अनेरास्ववियुका जिल्ला अध्यक्ष रानासहित तीन जना कीर्ते आरोपमा पक्राउ
नेकपा एमाले निकट अनेरास्ववियुका जिल्ला अध्यक्ष सगुन राना कीर्ते गरेको आरोपमा पक्राउ परेका छन् । हरिनास गाँउपालिका स्थायी घर भई वालिङ बस्दै आएका रानाले वालिङ १४ का एकजना आफन्तलाई बेलायत पठाउनका लागि नक्कली कागजात बनाएको प्रहरीको भनाई छ ।
वडा प्रहरी कार्यालय वालिङका डीएसपी ढकेन्द्र खतिवडाका अनुसार उनले सरकारी छाप कीर्ते गरेको यसअघि पक्राउ परेका भीमबहादुर थापाले पोलेपछि पक्राउ परेका हुन । रानाले सरकारी कागजातमा नक्कली स्ट्याम्प लगाउने भूमिका निभाएको आरोप थापाले लगाएपछि पक्राउ गरिएको डीएसपी खतिवडाले नेपालबहसलाई बताए ।
अध्यक्ष रानाले बनाएको नक्कली स्ट्याम्प तथा सरकारी कागजातको प्रयोग गरी आफन्त भीमबहादुर थापालाई बेलायत पठाउने तयारीमा रहेका थिए । प्रहरीलाई प्राप्त सूचनाको आधारमा यसअघि बेलायत जाने तयारीमा रहेका भीमबहादुर थापा पक्राउ परेपछि उनैको बयानका आधारमा अनेरास्ववियू अध्यक्ष राना र लोकेन्द्र आलेलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुलाई सरकारी कागजात तथा स्ट्याम्प कीर्ते गरेको आरोपमा मुद्धा दर्ता गरी अनुसन्धान जारी राखिएको प्रहरीको भनाई छ । एमाले सचिव पदमा अर्यालका अत्यन्तै निकट रहेका राना अनेरास्ववियुका पूर्व केन्द्रीय सदस्य तथा एमालेका बहालवाला जिल्ला सदस्य समेत रहेका छन् ।
Comments